विराटनगर । रङ्गबाट खुशी र शुभकामना साट्ने होली पर्व सुरु भएको छ । आगामी फागुन २३ गते होली पर्व मनाउने औपचारिक दिन भएपनि विराटनगरमा संस्थागत रुपमा होलीको शुभकामना साटासाट गर्ने कार्यक्रम आयोजना हुन थालेका हुन् ।
होली पर्वको शुभकामना साट्न शुक्रबार साँझ विराटनगरस्थित गोल्छा अर्गनाईजेशनले कार्यक्रम राखेको छ । त्यस बाहेक संस्थागत रुपमा होलि मिलन कार्यक्रम आयोजनाका कार्यक्रम धमाधम घोषणा भईरहेका छन् ।
रङ्ग दलेर खुशी साटासाट गर्दै एकअर्कामा आत्मियता बढाउने होली पर्व मर्यादित र व्यवस्थित हुन आवश्यक छ । तर, कतिपय अवस्थामा यसलाई अमर्यादित बनाउने गरिएको छ । यसका लागि मोरङ प्रहरीले होली पर्व सुरक्षा योजना लागु गर्ने भएको छ ।
मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले होलीलाई मर्यादित बनाउँदै एकअर्कामा खुशी साट्न र प्रेमका रङ्ग भर्न आग्रह गरेका छन् । उनले होलीमा हुनसक्ने संभावित कतिपय गतिविधिलाई निगरानी र नियन्त्रणका लागि सुरक्षा संयन्त्र परिचालन हुने जानकारी दिएका छन् । प्रहरीले सिसी क्यामेरा, सादा पोशाकका प्रहरी परिचालन, विभिन्न किसिमका गस्तीमार्फत होलीको दिन सुरक्षा प्रदान गर्ने कार्ययोजना ल्याउने भएको छ ।
‘कसैले बिना बुझी लोला हान्ने र अपरिचित व्यक्तिलाई टच गर्दै रङ्ग दल्ने काम गर्न पाईदैन’ प्रहरी उपरीक्षक पोखरेलले भने–अपरिचितलाई जथाभावी लोला र सोला हान्ने कार्य भए कारवाही हुनेछ । उनले महिलाहरुलाई रङ्ग लगाउँदा मर्यादित व्यवहार गर्न आग्रह गरेका छन् । मादक पदार्थ तथा अन्य कुनै वस्तु खाएर सडकमा निस्कने, होहल्ला गर्दै कसैलाई देख्नासाथ रङ्ग दल्ने काम नगर्न समेत आग्रह गरिएको छ ।
‘सम्मानपूर्वक रङ्ग खेल्न मिल्ने वा नमिल्ने अनुमति लिएर मात्रै लगाउनुले पर्वको इज्जत दर्शाउँछ’ प्रहरी उपरीक्षक पोखरेलले भने–सबैले मर्यादित भएर पर्व मनाउँदा मात्रै त्यसको महत्व झल्कने छ । जिल्लाभर एक हजार ४०० प्रहरी छन् । थप बल आवश्यक पर्दा तालुक कार्यालयबाट मगाईने छ । होलीमा विराटनगरको रौनक अलिक भिन्न हुने गर्दछ । भीआईपीहरुले समेत होली खेल्न कार्यक्रम राख्ने गरेका छन् ।