विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै विराटनगरमा पहिचानवादी संघसंस्थाहरुले आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले विराटनगर १३ रोडशेषस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी शुक्रबार विरोध प्रर्दशन गरेका हुन् ।
उनीहरुले सडकमा विरोध प्रर्दशन गर्दै कोशी प्रदेश खारेजी गरिनुपर्ने र पहिचानको आधारमा लिम्बुवान– किरात प्रदेश नामकरण गरिनुपर्ने माग राखेका छन् । प्रदेश १ को नामकरण पहिचानसहितको नराखे देशभरी आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।
१७ फागुनमा प्रदेशसभाबाट बहुमतले प्रदेश १ को नामकरण कोशी प्रदेश घोषणा भएपछि पहिचानबादी संघसंस्थाहरु लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले विरोध प्रर्दशन गर्दै आएका छन् । उनीहरुले नामकरण राख्ने दिन बुधबार पनि विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका थिए ।
उनीहरुले पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद , कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका थिए । अहिले मुख्यमन्त्री कार्यलय परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।