विराटनगर । आईसीसी यू–१९ क्रिकेट टिमका खेलाडी दीपेश कँडेल र हेमन्त धामीलाई विराटनगर विमानस्थलमा स्वागत गरिएको छ । सोमबार उनीहरु विराटनगर आईपुग्दा उनीहरुलाई विशेष स्वागत तथा सम्मान गरिएको हो ।
आईसीसी यू–१९ क्रिकेटमा विराटनगरका दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै घरेलु टोली यूएईलाई हराउन खेलेका थिए । नेपाल यहि खेलबाट विश्वकपमा छनोट भएको थियो ।
बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । नेपालले जीतको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भएको थियो ।
नेपालका बलर तथा विराटनगरका दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जीत दिलाएका थिए । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो । यू–१९ विश्वकप क्रिकेट सन् २०२४ मा श्रीलङ्कामा हुँदैछ ।