राष्ट्र युवा संघ नेपालको नवौँ महानगर अधिवेशन विराटनगरमा हुने

राष्ट्र युवा संघ नेपालको नवौँ महानगर अधिवेशन विराटनगरमा हुने

विराटनगर । राष्ट्र युवा संघ नेपालको नवौँ विराटनगरको महानगर अधिवेशन हुने भएको छ ।

फागुन २६ गते शुक्रबार विराटनगर महानगरपालिका–११ पाञ्चालीमा रहेको नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा अधिवेशन हुने भएको हो।

लोकतान्त्रिक विधिबाट कार्यसमिति चयन हुने निश्चित भएपछि राष्ट्रिय युवा संघ विराटनगर महानगर कमिटीको संयोजकमा नितेश बस्नेत र निरञ्जन ढुंगानाबिच प्रतिस्पर्धा हुने भएको छ । संयोजक पदका दाबेदार बस्नेत २०७२ सालमा नगर कमिटी सदस्यको रुपमा राष्ट्रिय युवा संघ प्रवेश गरेका हुन् । सक्रिय राजनीति गर्दै आएका उनले संगठन विस्तार, अवसर सिर्जना र सामाजिक कार्यमा अग्रसरता लगायतका बिषयलाई आफ्नो प्रमुख एजेण्डा समेत बनाएका छन् । संयोजक रुपमा चयन भएपछि यी कार्यहरुलाई तीव्रता दिने तयारी रहेको उनीले बताए । उनले भने, ‘मैले लामो समयसम्म ग्राउण्ड लेभलमा बसेर युवाहरुको भावनालाई राम्रोसँग बुझेको छु । उनीहरुसँग नजिक पनि छु । मसँग भिजन छ । त्यही भएर मलाई नेतृत्व गर्ने अवसर दिईनुपर्छ ।’

संयोजक पदका अर्का दाबेदार निरञ्जन ढुंगाना हाल युवा संघको महानगर कमिटीका सह–संयोजक छन् । यसअघि उनी कार्यबाहक सचिव थिए । उनले पनि आफ्नो क्षमता, दक्षता र अनुभवको आधारमा नेतृत्वको अवसर पाउनुपर्ने बताएका छन् । उनले भने, ‘म सँग कार्यवाहक सचिव र सह–संयोजक भएर काम गरेको अनुभव छ । युवाहरुको मनको कुरा मैले बुझेको छु । त्यही भएर मैले अवसर पाउनुपर्छ ।’

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरण पश्चात युवा संघको महानगर कमिटी संयोजकको जिम्मेवारी आजम प्रवेजले पाएका थिए । त्यतिबेला किरण लामा कमिटीको सह–संयोजक थिए । पछि पार्टी फुटेपछि लामाले युवा संघको महानगर कमिटीको संयोजकको जिम्मेवारी पाएका हुन् । लामाकै कार्यकालमा हाल संयोजक पदका दाबेदार ढुंगानाले सह–संयोजकको जिम्मेवारी प्राप्त गरेका हुन् ।

विराटनगरको पाञ्चालीस्थित नेकपा एमालेको पार्टी कार्यालयमा शुक्रबार बिहान १० बजेदेखि युवा संघको महाधिवेशन हुने छ । प्रारम्भिक चरणमा सर्वसम्मत कार्यसमिति चयन गर्ने तयारी छ । सहमति नजुटेपछि निर्वाचन प्रक्रियामा जाने गृहकार्य भईरहेको जनाईएको छ । नयाँ कार्यसमिति चयनका निम्त्ति लामो समयपछि महाधिवेशन हुन गईरहेको महानगर कमिटी संयोजक किरण लामाले बताए । यसअघि केन्द्रबाटै संयोजक र सह–संयोेजक तोकेर पठाउने गरिएकोमा लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन हुनु सुखद् बिषय रहेको उनले जानकारी दिए ।

युवा संघको शुक्रबार हुने महाधिवेशनले विराटनगर महानगर कमिटीको संयोजक, सह–संयोजक, सचिव, दुईजना सह–सचिव र कोषाध्यक्ष चयन गर्ने बताईएको छ । सदस्यहरु वडा कमिटीबाट सिफारिस भएर नाममा आधारमा चयन गरिने जानकारी दिईएको छ । युवा संघको विराटनगरमा भने आयोजक कमिटीका ४१ जनासहित प्रत्येक वडाबाट ५-५ जना गरी कुल एक सय ३६ जना मतदाता रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्