राष्ट्रिय युवा संघको विराटनगर महानगर कमिटीमा बस्नेत र ढुंगानाको प्रतिस्पर्धा

राष्ट्रिय युवा संघको विराटनगर महानगर कमिटीमा बस्नेत र ढुंगानाको प्रतिस्पर्धा

विराटनगर । राष्ट्र युवा संघ नेपालको नवौँ विराटनगर महानगर अधिवेशन हुने भएको छ । फागुन २६ गते शुक्रबार विराटनगर महानगरपालिका–११ पाञ्चालीमा रहेको नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा अधिवेशन हुने भएको हो।

राष्ट्रिय युवा संघ विराटनगर महानगर कमिटीको संयोजकमा नितेश बस्नेत र निरञ्जन ढुंगानाबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक विधिबाट कार्यसमिति चयन हुने निश्चित भएपछि राष्ट्रिय युवा संघ विराटनगर महानगर कमिटीको संयोजकमा बस्नेत र ढुंगानाबिच प्रतिस्पर्धा हुने भएको हो । संयोजक पदका दाबेदार बस्नेत २०७२ सालमा नगर कमिटी सदस्यको रुपमा राष्ट्रिय युवा संघ प्रवेश गरेका हुन् । सक्रिय राजनीति गर्दै आएका उनले संगठन विस्तार, अवसर सिर्जना र सामाजिक कार्यमा अग्रसरता लगायतका बिषयलाई आफ्नो प्रमुख एजेण्डा समेत बनाएका छन् । संयोजक रुपमा चयन भएपछि यी कार्यहरुलाई तीव्रता दिने तयारी रहेको उनीले बताए । उनले भने, ‘मैले लामो समयसम्म ग्राउण्ड लेभलमा बसेर युवाहरुको भावनालाई राम्रोसँग बुझेको छु । उनीहरुसँग नजिक पनि छु । मसँग भिजन छ । त्यही भएर मलाई नेतृत्व गर्ने अवसर दिईनुपर्छ ।’

संयोजक पदका अर्का दाबेदार निरञ्जन ढुंगाना हाल युवा संघको महानगर कमिटीका सह–संयोजक छन् । यसअघि उनी कार्यबाहक सचिव थिए । उनले पनि आफ्नो क्षमता, दक्षता र अनुभवको आधारमा नेतृत्वको अवसर पाउनुपर्ने बताएका छन् । उनले भने, ‘म सँग कार्यवाहक सचिव र सह–संयोजक भएर काम गरेको अनुभव छ । युवाहरुको मनको कुरा मैले बुझेको छु । त्यही भएर मैले अवसर पाउनुपर्छ ।’

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरण पश्चात युवा संघको महानगर कमिटी संयोजकको जिम्मेवारी आजम प्रवेजले पाएका थिए । त्यतिबेला किरण लामा कमिटीको सह–संयोजक थिए । पछि पार्टी फुटेपछि लामाले युवा संघको महानगर कमिटीको संयोजकको जिम्मेवारी पाएका हुन् । लामाकै कार्यकालमा हाल संयोजक पदका दाबेदार ढुंगानाले सह–संयोजकको जिम्मेवारी प्राप्त गरेका हुन् ।

विराटनगरको पाञ्चालीस्थित नेकपा एमालेको पार्टी कार्यालयमा शुक्रबार बिहान १० बजेदेखि युवा संघको महाधिवेशन हुने छ । प्रारम्भिक चरणमा सर्वसम्मत कार्यसमिति चयन गर्ने तयारी छ । सहमति नजुटेपछि निर्वाचन प्रक्रियामा जाने गृहकार्य भईरहेको जनाईएको छ । नयाँ कार्यसमिति चयनका निम्त्ति लामो समयपछि महाधिवेशन हुन गईरहेको महानगर कमिटी संयोजक किरण लामाले बताए । यसअघि केन्द्रबाटै संयोजक र सह–संयोेजक तोकेर पठाउने गरिएकोमा लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन हुनु सुखद् बिषय रहेको उनले जानकारी दिए ।

युवा संघको शुक्रबार हुने महाधिवेशनले विराटनगर महानगर कमिटीको संयोजक, सह–संयोजक, सचिव, दुईजना सह–सचिव र कोषाध्यक्ष चयन गर्ने बताईएको छ । सदस्यहरु वडा कमिटीबाट सिफारिस भएर नाममा आधारमा चयन गरिने जानकारी दिईएको छ । युवा संघको विराटनगरमा भने आयोजक कमिटीका ४१ जनासहित प्रत्येक वडाबाट ५-५ जना गरी कुल एक सय ३६ जना मतदाता रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्