विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । सभापतिका लागि चार विद्यार्थी संगठनले उम्मदेवारी दर्ता गराएका छन् । यद्यपी प्रतिस्पर्धाका हिसाबले नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानलको रोचक हुने देखिएको हो ।
नेविसंघबाट जसवन्त पौडेल, अनेरस्ववियुबाट नविन पहाडी, अखिल क्रान्तिकारीबाट रोहित यादव र विद्यार्थी जनमत संघबाट आनन्दकुमार साहले सभापति पदका लागि उमेदवारी दर्ता गराएका छन् । चुनावी प्रचार–प्रसारमा लागेका विद्यार्थी नेताहरुले शान्त र सालिनतासहित प्रतिस्पर्धा गर्ने दावी गरेका छन् ।
अनेरास्ववियुकोतर्फबाट सभापतिका उमेदवार बनेका पहाडीले निर्वाचनको समयमा बेमेल र हानाथाप गर्ने कुरा जायज नभएको बताएका छन् । उनले प्रारम्भिक चरणमा नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारीको प्यानलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको बताए ।
स्ववियु निर्वाचनका लागि सचिवमा ६ जनाको उम्मेदवारी परेको छ । क्याम्पसका निर्वाचन समितिका अनुसार नेवि संघबाट पूजा विश्वास, अनेरास्ववियुबाट सनिम ठकुरी, अखिल (क्रान्तिकारी) बाट आशिका लम्साल, नेकपा (एस) पार्टी निकट अनेरास्ववियूबाट निर्मल भण्डारी, लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघबाट पेशल यादव, विद्यार्थी जनमत संघबाट सरोज साहूले उमेदवारी दिएका छन् ।
कोषाध्यक्षमा नेविसंघबाट स्वस्तिक बोहरा, अनेरास्ववियु आरोग्य थापा, अनेरास्ववियूबाट रोहित गौतम, समाजवादी विद्यार्थी युनियनबाट राकेशकुमार यादव, विद्यार्थी जनमत संघबाट अनिशाकुमारी मोचीको उम्मेदवारी रहेको छ । समानुपातिकबाट १० जना छनोट हुने निर्वाचन समितिले जनाएको छ । प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्ष गरी तीन पदाधिकारी र आठ सदस्यीयको लागि निर्वाचन हुने छ ।