मौरीपालनले दिन्छ राम्रो आम्दानी

मौरीपालनले दिन्छ राम्रो आम्दानी

बेलबारी । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरीविना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा ह्रास आउँछ । विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको सुनिश्चित गर्न मौरीले पनि अहम भूमिका खेल्ने गर्दछ । राम्रो बजार र लोभलाग्दो गुण भएकै कारण मौरीपालन कृषकको रोजाइमा पर्दछन् ।

मोरङको लेटाङ नगरपालीका भित्रबाट मात्रै व्यावसायिक किसानले उत्पादन गरेको महऔषतमा वार्षिक आठ सय क्वीन्टलभन्दा बढी पालिका बाहिर निर्यात हुने गरेको लेटाङ नगरपालिकाले जनाएको छ । तर विगतका वर्षमा भन्दा यस वर्ष मह उत्पादनमा कमी आउने संकेत देखिएको लेटाङ–९ जाँते मनकामना मौरीपालक केन्द्रका सञ्चालक इमनाथ पोखरेल बताउनुहुन्छ । जङ्गली फूल फुल्नु अगाडि पानी पर्न नसक्दा बोटविरुवाका फूल सुक्न थालेकाले मौरीलाई चरणको अभाव भएको कारण मह कम उत्पादन हुने सङ्केत देखिएको पोखरेल बताउनुहुन्छ । विसं २०५८ देखि लगातार मौरीपालन गर्दै आउनुभएका पोखरेलले दुई सय ५० घारभन्दा बढी मौरी पालेर वार्षिक ३० देखि ३५ क्वीन्टलभन्दा बढी मह उत्पादन गरिरहेको बताउनुभयो । तोरीको समयमा मात्रै २० क्वीन्टल मह उत्पादन गरेको उहाँले दाबी गर्नुभयो । तोरीको फूल फुल्ने समयभन्दा अन्य समयमा मह कम उत्पादन हुने गर्छ । वार्षिक रु १२–१३ लाख कमाइ हुने गरेको पोखरेल बताउनुहुन्छ । “हाल औषत आठ सयको दरले मह बिक्री गर्ने गरेको र सम्पूर्ण खर्च कटाएर प्रतिकिलो रु तीन सय नाफा हुने गरेको छ”, उहाँले भन्नुभयो । नेपालमा राम्रो मह उत्पादन हुन्छ तर राज्यले यसलाई ब्रान्डिङ गर्न पहल गर्नुपर्ने पोखरेलले बताउनुभयो । उहाँका अनुसार नेपालका चारकोसे झाडी तथा जङ्गलमा चराएका मौरीको महमा औषधी नै हुन्छ । मेलीफेरा र सेराना जातका मौरी पालन गर्दा राम्रोसँग उत्पादन लिन सकिन्छ । मेलीफेरा जातको मौरीलाई तराई र भित्री मधेसमा पालन गर्न सकिन्छ भने सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पालन गर्न सकिन्छ । चरण क्षेत्रमा लगाइएका बालीमा प्रयोग हुने विषादीका कारण मौरीमा प्रतिकूल असर परी मौरीपालन व्यवसायी मारमा पर्दै आएको मौरी चरण क्षेत्र बेलबारी ११ भाङबारीका जीवन अधिकारी बताउनुहुन्छ ।

विदेशी कम गुणस्तरीय मह स्वदेशी बजारमा छ्यापछ्याप्ति भित्रिनुले स्वदेशी महले उचित मूल्य पाउन नसकेको किसान इमनाथ पोखरेल बताउनुहुन्छ । स्वदेशी महको गुणस्तर मापन गरेर ग्राहकसम्म पुर्याउन सरकारले भूमिका खेलिदिए कृषकलाई राहत पुग्ने उहाँ बताउनुहुन्छ । निजी क्षेत्रबाट गोल्छा अर्गनाइजेशन कम्पनी र मह कृषकबीच सम्झौता भएको लेटाङ नगरपालिकाका कृषि शाखा प्रमुख करण श्रेष्ठले बताउनुभयो । तर यसको कार्यान्वयन भने अझै हुन सकेको छैन ।
मह परीक्षण ल्याव स्थापना गर्न ढिलाइ भएको कारण देखाउँदै उक्त कम्पनी पन्छिएको कृषक इमनाथ पोखरेलको आरोप छ । लेटाङ नगरपालिका क्षेत्रभित्र एक हजार पाँच सयभन्दा धेरै व्यावसायिक मौरीका घार छन् । जसमध्ये १० मौरीपालन फर्म र एउटा मौरीपालन समूह छन् । वडा नम्वर १, २, ५ र ६ का कृषक मिलेर उक्त मौरीपालन समूह सञ्चालन गरिरहनुभएको छ ।

महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी, सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छ, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छ । महमा ११ वटा महत्वपूर्ण मिनिरल्स पाइन्छ, जुन मानव शरीरको बनावट र विकासका लागि निकै आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्