विराटनगर । मोरङ प्रहरीले एक महिनाको अवधीमा तीनवटा कर्तव्य ज्यानका घटनामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ । एक महिनामा बुढीगंगा, सुनवर्षी र बेलबारीमा तीनवटा कर्तव्य ज्यानका घटना भएका छन् ।
प्रहरीले बुढीगंगा–२ स्थित अमाहीमा विराटनगर–१९ की प्रियंका सोनारको हत्यामा संलग्न आरोपमा कटहरी–५ का उमेश सरदार, रमानन्द राय, सुनसरीको दुहबी–६ घर भई विराटनगर बस्ने सिलिराम चौधरी र विराटनगर–६ का राम किशोर कामतलाई पक्राउ गरेको हो । घटना गत फागुन ७ गते भएको थियो ।
यसैगरी फागुन १७ गते सुनवर्षी नगरपालिका–१ का १४ वर्षीय विशाल माझीको हत्या आरोपमा विरेन्द्र पासवान र डल्ली पासवानलाई पक्राउ गरेको छ । यसैगरी फागनु २५ गते बेलबारी–१ मा देवी महतको हत्या आरोपमा उनका श्रीमान् हेमकर्ण महतलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु विरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भईरहेको छ ।
राजस्व चुवाहट नियन्त्रणमा उल्लेख्य सफलता
मोरङ प्रहरीले एक महिनाको अवधीमा नौ करोड २४ लाख ९६ हजार ५८४ रुपैँया बराबर राजस्व संकलन गरेको छ । जसमध्ये भन्सार छलेर भित्र्याइएको सामान ८७ लाख १५ हजार ९०२ रुपैँया बराबरको भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी राजस्व छलेर लैजादै गरेको २८ लाख बराबरको जुटको सामान र लहरी पक्राउ गरेको छ । प्राकृतिक स्रोतसाधन दोहन गरेको १३ सवारी साधन नियन्त्रणमा लिएर २ लाख ८० हजार बराबरको राजस्व असुली गरिएको उल्लेख छ ।
स्रोत नखुलेको ३२ लाख ६५ हजार ३१५ र बिगो रकम ७ करोड ५२ लाख ३३ हजार ९६५ र तीनथान मोटरसाइक, ९ जना मानिस पक्राउ गरेको छ । थप कारवाहीका लागि राजश्व अनुसन्धान इकाई कार्यालय इटहरी बुझाइएको छ । एक महिनामा ५६० लिटर मदिरा, तीनजना व्यक्ति र दुई सवारी नियन्त्रणमा लिइएको छ । यसैगरी दुई महिनासहित ११ जना फरार प्रतिवादीबाट ११ वर्ष ९ महिना कैद र २ लाख ६६ हजार २१७ जरिवाना असुल गरिएको छ ।