तुलसीको ‘ब्याज लोभमा’ फसेका विराटनगरका बचतकर्ता

तुलसीको ‘ब्याज लोभमा’ फसेका विराटनगरका बचतकर्ता

विराटनगर । विराटनगर पुष्पलाल चौकका हरी खतिवडा रिटायर्ड इण्डियन आर्मी हुन् । उनको पेन्सनवापत मासिक रकम एसबीआई बैंकमा आउँछ । बैंकमा आएको पैसा झिकेर उनी घरखर्च चलाउँछन् । बचत हुने रकम झिकेर तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारीमा राख्थे ।
उनको यो कार्य सात वर्ष अगाडीदेखि नै सुरु भएको थियो । मासिक ६ हजार सहकारीमा जम्मा गर्दा उनलाई पाँचलाख रुपिँया पाँचवर्षपछि दिएको थियो । उनले त्यो रकम छोरीको विवाह गर्ने समयमा निकालेका थिए ।

छोरीको विवाह भएपछि ज्वाँईसहित वैदेशिक रोजगारीका लागि मलेसिया पुगे । त्यहाँ कमाएको पैसा नेपाल पठाउँदा उनी तुलसी सहकारीमा राख्ने सुझाव खतिवडाले दिए । छोरी–ज्वाँईसहित अहिले उनको परिवार भित्रका सातजनाले सहकारीमा ५० लाख रुपैँया बढी जम्मा गरिसकेका छन् । तर, सहकारीका सञ्चालक बचतकर्तालाई डुबाएको आरोपमा तीनजना प्रहरी नियन्त्रणमा र बाँकी पाँचजना फरार छन् ।
जिल्ला प्रहरी कार्यालय परिसर तुलसी सहकारीमा रकम जम्मा गर्ने बचतकर्ता, शेयर सदस्यहरु अहिले आफ्नो रकमको विवरण उजुरीमार्फत टिपाईरहेका छन् । टिपाउनेमध्ये पुष्पलाल चौककै बिमला घिमिरेको पीडा भिन्नै छ ।
बिमलाका श्रीमान् साउदीमा छन् । उनले त्यहाँ कमाएर पठाएको रकम बिमलाले सहकारीमा जम्मा गरेर भविष्यलाई साँचेकी थिइन् । यसरी उनले बचत गरेको रकम १९ लाख रुपैँया पुगिसकेको छ । तर, सहकारीबाट फिर्ता आउने अवस्था न्यून देखिएपछि उनी मलिन मात्रै छैनन्, साउदीमा श्रीमान्को पसिनासँग साटिएको रकम डुब्ने स्थिति सम्झेर छट्पटाई रहेकी छिन् ।

ब्याजको लोभ देखाएर रकम जम्मा गराउने सहकारीले बचतकर्तालाई नराम्रोसँग फसाई दिएको हो । यतिसम्मकी बैंकको ब्याज कम भएको बेला कतिपयले रकम झिकेर सहकारीमा जम्मा गर्दा डुबेर छट्पटाउने अवस्था समेत आएको देखिएको छ । बैंकमा ११ प्रतिशत ब्याजमा ऋण दिदाँ झिकेर सहकारीमा १५ प्रतिशतमा जम्मा गर्ने र ४ प्रतिशत ब्याज कमाउने धन्दाले समेत धेरैलाई फसाएको छ ।
बैंकमा बचत गरेको रकम १० प्रतिशत भन्दा कम ब्याज पाउने भएपछि पैसा झिकेर १५ प्रतिशत ब्याजको लोभमा पैसा राख्नेहरु समेत रहेका छन् । घरजग्गा बिक्री गरेर अल्पकालिन समयका लागि बचत गर्नेदेखि एक करोड २५ लाख रुपिँयासम्म जम्मा गरेर प्रशस्त ब्याज लिनेहरु सबैभन्दा धेरै पीडामा देखिएका छन् ।
विराटनगर–२ मा कार्यलय रहेको तुलसी बहुमुखी बहेउद्देश्यीय सहकारी संस्था लिमिटेडका आठजना विरुद्ध प्रहरीले ठगी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिसकेको छ । आइतबारदेखि उजुरी दिनेको संख्या दैनिक बढ्दै गएको छ । प्रहरीले संस्थाका क्षेत्रीय प्रवन्धक विराटनगर–२ का मन्दिप खवास, उर्लाबारी नगरपालिका ६ घर भई संस्थाको उपाध्यक्ष अनिता गौतम र झापा भद्रपुर–१४ घर भई सहकारी संस्थाको सचिव सविना न्यौपानेलाई सोमबार सार्वजानिक गरेको थियो । संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित बाँकी पाँचजना सञ्चालक फरार रहेका छन् ।

सहकारीमा २१ हजार ७१३ जना सदस्य रहेको देखिएको छ । जसमध्ये चारहजार सदस्य विराटनगरमा रहेको मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिएका छन् । सहकारीको ढेड अर्बको कारोबार रहेको र विराटनगरका बचतकर्ताको मात्रै ६० करोड रकम जोखिममा परेको देखिएको छ । रकम जोखिममा पर्नेहरु अतिसामान्य आयआर्जन भएकादेखि धेरै ब्याजको लोभमा बैंकबाट पैसा झिकेर राख्नेसम्म रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्