विराटनगरमा ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको तयारी

<span class='c1'>विराटनगरमा ध्वनि प्रदूषण नियन्त्रण</span> <span class='c2'>गर्ने महानगरको तयारी</span>

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले ध्वनि नियन्त्रणको तयारी सुरु गरेको छ ।

मंगलबार विराटनगरस्थित धार्मिक र नागरिक समाजका अगुवाहरुलाई बोलाएर कसरी ध्वनि प्रदूषण नियन्त्रण गर्ने भन्ने विषयमा सुझाव मागेको छ । अन्तरक्रियामा सहभागीहरुले महानगरले सुरु गरेको अभियानमा साथ दिने प्रतिबद्धता जनाएका छन् । उनीहरुले डिजेका कारण मुटुका रोगी, ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई बढी असर परेकाले नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।

छोयलिङ बौद्ध गुम्बा रानीका कोषाध्यक्ष अनुपकुमार स्याङ्बोले पछिल्लो समय महानगरपालिकाले जनआकांक्षाअनुसारका कार्य गरेको भन्दै प्रशंसा गरे । उनले ध्वनि प्रदूषण नियन्त्रण अति नै आवश्यक रहेको बताए । “सुत्नै नसक्ने डिजे बजाउने गरिएको छ । सडक नै ढाकेर विवाह र धार्मिक कार्यक्रमका लागि टेन्ट टाँगिएको हुन्छ,” उनले भने, “यो नियन्त्रण हुनुपर्छ । यसमा हाम्रोतर्फबाट साथ रहन्छ ।” इसाई समाज विराटनगरका अध्यक्ष सुरज मल्लले धार्मिक कार्यक्रम गर्दा अरुलाई असर नपर्ने गरी गर्नुपर्नेमा जोड दिए । उनले इसाई समाजले बाहिर कसैले थाहै नपाउने गरी हलभित्र धार्मि कार्यक्रम गर्ने गरेको सुनाए । “इसाई धर्म मान्नेहरु स्वभावकै शान्तिप्रिय हुन्छन्,” मल्लले भने, “हाम्रोतर्फबाट कहिल्यै पनि ध्वनि प्रदूषण हुनेगरी धार्मिक कार्यक्रम गर्दैनौं ।” मुस्लिम समुदायको तर्फबाट जमियत उलामा ए-नेपालका अध्यक्षले अब्दुल सुब्हानले ध्वनि प्रदूषण नियन्त्रणका लागि आफ्नो समुदायले महानगरलाई साथ दिने प्रतिबद्धता जनाए । ओसो ध्यान केन्द्रका संयोजक दिलीपकुमार मण्डलले महानगरले अत्यन्तै सान्दर्भिक विषयमा छलफल चलाएको भन्दै प्रशंसा गरे । उनले डिजेमा प्रतिबन्ध लगाउन सुझाव दिए । “डिजेमा त प्रतिबन्ध लगाउनै पर्छ,” उनले भने, “धार्मिक कार्यक्रम पनि अरुलाई असर नपर्ने गरी गर्दा राम्रो हुन्छ ।”

अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले विराटनगरलाई सुव्यवस्थित, संस्कारयुक्त र अनुशासित सहर बनाउने अभियानअन्तर्गत ध्वनि प्रदूषण कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको बताए । उनले मुटुरोगीलाई ध्वनि प्रदूषणले सबैभन्दा बढी समस्यामा पारेको सुनाए । मेयर कोइरालाले एउटै छलफलबाट निष्कर्षमा पुग्नुभन्दा फेरि अर्को छलफल गरेर सबैको राय लिएर निष्कर्षमा पुग्ने प्रस्ट पारे । “आजको छलफलमा धेरै कुराहरु आएका छन् । तर, अझै ठोस कुरा आएको छैन,” उहाँले भने, “धार्मिक कार्यक्रम, विवाह र अन्य कार्यक्रमका कारण हुने ध्वनि प्रदूषणलाई कसरी मिनिमाइज गर्न सकिन्छ त्यसबारेमा महानगर लागिपरेको छ । विराटनगर सबैको हो । यसमा सबैको साथ आवश्यक छ ।”

कार्यक्रमको उद्देश्यमाथि प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले प्रकाश पारेका थिए । उनले सडकमै विवाह र धार्मिक कार्यक्रम गर्दा आवतजावतमा समस्या हुने गरेको बताए । धार्मिक कार्यक्रममा चारैतर्फ फर्काएर माइक बजाउँदा वरपर बसोबास गर्नेलाई समस्या भएको उल्लेख गरे । कोइरालाले धार्मिक क्षेत्रमा लागेका अगुवा, नागरिक समाज र बुद्धिजीवीको धारणा लिएर महानगरले ध्वनि प्रदूषण नियन्त्रणको निणर्य गर्ने जानकारी दिए । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, १८ का जितेन्द्रकुमार साहलगायत कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्