विराटनगरको जामुनगाछीमा धुलो छेक्न ‘सडक बार’

विराटनगरको जामुनगाछीमा धुलो छेक्न ‘सडक बार’

विराटनगर  । विराटनगर–५ जामुनगाछीमा स्थानीयले सडक अवरोध गरेका छन् । निर्माण गर्न भत्काएको सडकमा अति धुलो भएका कारण सवारी हिड्दा समस्या हुने भएपछि बार लगाएर सडक अवरोध गरिएको हो ।

हुलाकी राजमार्ग अन्तर्गत गणेशचौकदेखि केशलिया पुलसम्मको ३ किलोटिमर १९५ मिटर सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीयले सवारी चलाउन अवरोध गरेका हुन् । अति धुलो उड्ने भएका कारण सवारी चलाउँदा स्थानीयलाई सास्ती छ ।
२०८० साउन १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमि कन्ट्रक्सनले ठेक्का लिएको सडकबाट काम नगरी हात झिकेको छ । त्यसपछि देव एण्ड सायर कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएपनि काम अझै हुन सकेको छैन ।

स्थानीयले सडक निर्माणको माग गर्दै विभिन्न किसिमका दवाव सिर्जना गर्दै आएका छन् । तर, पनि सडक निर्माणले गति लिन सकेको छैन । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर दीपेन्द्र चौधरीले नयाँ ठेकेदार कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको जानकारी दिए ।

स्थानीयवासीको गुनासो सम्बोधन गर्न विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले मंगलबार निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर तत्काल काम बढाउन निर्देशन समेत दिएका छन् ।
स्थानीयको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न मेयर कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएपनि काम कहिलेदेखि सुरु हुन्छ यकिन छैन ।

स्थानीयले ढाट लगाएर आवतजावत बन्द गर्दा निर्माण सामग्री ल्याएर काम गर्न समस्या भएको साइट इन्चार्ज उमेश निरौलाले मेयर कोइरालासँग गुनासो गरेका थिए । उनले पश्चिमबाट काम सुरु भइसकेकाले ढाट हटाउन पहल गरिदिन महानगरका मेयर कोइरालासित आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्