नारीको वस्तुकरण र हाम्रो पाखण्ड

नारीको वस्तुकरण र हाम्रो पाखण्ड

हामीले अन्तराष्ट्रिय नारी दिवसको कर्मकाण्ड सकाएको छौ र महिला मुक्ति समानता र हक अधिकारको एक दिने औपचारिकता पनि पुरा गरेको छौँ । उपभोक्तावाद ले ग्रस्त युगमा नारी दिवसलाई सबैले बजारीकरण सग जोड्न भ्याएका छन् । मिडिया, मनोरञ्जन(इन्टरटेन्मेण्ट) उद्योग र फेसन उद्योगहरू उद्योगले सधै वस्तुकरण गरेको नारी देहलाई एक दिन अरु वस्तुकरण(अब्जेक्टिफ़िकेसन) गर्न भ्याएको छ र 'लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार' भन्ने नारा सामाजिक संजालमा , कतै फेसबुक पोस्टमा कतै टिकटक भिडियोमा सिमित हुदै गम्भीर बहस बिना सकिएको छ । एक दिनको चर्चा र उत्सवले मात्रै महिला मुक्ति र लैंगिक समानताको बहस सकिने छैन।

पूर्वीय हिन्दु समाजले कालि माताको पुजा गर्दछ जसको रुप सेतो छैन, दुर्गाको पुजा गर्दछ जसको रुप प्राय सेतो देखाइदैन बौध र हिन्दु दुवैले सम्मान गर्ने ताराको स्वरुप पनि गहिरो निलो छ भैरवीको स्वरुप पश्चिमी समाजले स्थापित गरेको सुन्दरताको मान्यता जस्तो छैन । पृथ्वी र उनको उर्वरताको सम्बन्धको प्रतीकको रूपमा भुमि देवीलाई केहि मोटो र घुमाउरो रूपमा चित्रण गरिएको हुन्छ । महालक्ष्मीको चित्रण मोटो भरिपूर्ण शरीर भएको देख्न सकिन्छ ।छिन्नमस्ता, वसुधरा, बज्रयोगिनी जस्ता देवीहरुको उचाईको चित्रण अग्लो देखाएर गरिदैन । होचो उचाइको चित्रणको अर्थ जमिन र पृथ्वी सग नजिक हुनु हो मोटो शरीरको अर्थ शारीरिक रुपमा शक्तिशाली हुनु होला महाकालिको अग्लो उचाइको अर्थ आकाश र ब्रह्माण्ड सग नजिक हुनु होला तर सुन्दर वा कुरुप हुनु थिएन। हामीले हाम्रा देवीहरूको पुजा गर्न मात्रै सिक्यौ भजन गाउन मात्रै सिक्यौ हामीले हाम्रा दर्शनहरु बाट नारी सुन्दरताको आफ्नै दर्शन विकास गर्न सिकेनौ र पश्चिमी समाजले हामीलाई नारी सुन्दरता भनेको रुप रंग बनावट हो भनेर सिकायो फेसन र मोड्लिङ्ग सिकायो।

पश्चिमी समाजले उसको प्रभुत्व कायम राख्न नारी सुन्दरताको आफ्नै मान्यता स्थापित गरेको छ पश्चिमी समाज र विकसित उपभोक्तावादलेले मानिसहरूलाई वस्तुको रूपमा, वस्तुको एक प्रकारको रूपमा व्यवहार गरेको छ र यो अभ्यासले लैङ्गिक शक्ति सम्बन्ध र लैङ्गिक अभ्यासहरू संगठित गर्न मद्दत गर्दै लैङ्गिक रुपमा विभेदी र विषमतावादी बनाएको छ जहा महिलाहरूलाई उनीहरुको प्रयोग, सेवा, र पुरुषहरूका लागि आनन्द दिने कुराको आधारमा मुल्यांकन गरिन्छ।

कर्पोरेट मिडिया घरानाहरु , मनोरञ्जन( इन्टरटेन्मेण्ट) उद्योग र फेसन उद्योगहरू महिला र युवतीहरुको वस्तुकरणको नेतृत्व गर्दछन तिनीहरूले सुन्दर आदर्श महिला भनेको एक पातलो (स्लिम), कामुक र आकर्षक शरीर हो र त्यो नै आदर्श महिला हो भन्ने भ्रम सिर्जना गरेको छन्। तपाइँ हामि बाची रहेको संसार कति सम्म पाखण्ड र विरोधाभाषपुर्ण छ भने सयौ वर्ष देखि महिला दिवस मनाउदै छ तर अहिलेसम्म पनि सुन्दरी प्रतियोगितामा शारीरिक रुपमा अशक्त वा फरक क्षमता भएका , शरीरको उचाइ कम भएका ,शरीरको आकार पातलो नभएका महिला लाई कुनैपनि सौन्दर्य प्रतियोगिताको बिजेता बनाइएको छैन।अहिले सम्म तपाइँले शरीरको उचाई कम भएका , शरीरको वजन धेरै भएका वा कुनै शारीरिक अशक्तता भएका महिला मिस नेपाल वा मिस वर्ल्ड भएको सुन्नु भएको छ ?

कुनै पनि कुरालाई तपाई जब एक वस्तु हो, विषय होइन भनेर लिनु हुन्छ त्यसको आफ्नै शारीरिक र यौन आवेग र रुचिहरू स्वतन्त्र रूपमा अवस्थित छैन भनेर मान्ने गरिन्छ र दोस्रो पक्षले नियंत्रित, परिभाषित र उपयोग गर्ने गरि सिमित गरिन्छ। हामीले वस्तुको रुपमा वा दोस्रो पक्षको रुपमा जबसम्म नारीलाई वा नारीको मुद्धा लाई हेर्नेछौ तबसम्म हामि कुनै न कुनै रुपमा महिला हिँसा गरिरहनेछौ विभेद गरिरहनेछौ। म कुनै नया विचार वा नया दृष्टिकोण राखिरहेको छैन। धेरै अगाडि अमेरिकन फ़ेमिनिस्ट लेखिका नेओमि वुल्फ़ले सन् १९९१ मा आफ्नो पुस्तक दि व्युटी मिथ मार्फत भनेको थिइन् मिडिया र विज्ञापनहरूमा महिलाहरूको यौनिकरण र वस्तुकरणले महिलाहरूको लागि आफ्नो शरीरको नकारात्मक छवि र आत्म-सम्मानका समस्याहरु सिर्जना गर्दछ। अर्थात महिलाले आफुले जन्मे देखि बाचिरहेको शरीर आफु आफ्ना परिवारले र माया गरेको आफ्नो शरीर मिडिया र विज्ञापनहरूमा हुने महिलाहरूको यौनिकरण र वस्तुकरणले उनीहरु लाई आफैलाई नराम्रो लाग्न थाल्छ , उनीहरुको आत्मसमानमा असर गर्दछ। कुनैपनि प्रकारको वस्तुकरणले महिलाहरूको स्वायत्तता र क्षमतालाई कमजोर बनाउछ तिनीहरूलाई पुरुष इच्छाको चल्ने निष्क्रिय वस्तुहरूमा सिमित गर्दछ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यो देशका जनतालाई यतिसम्म मुर्ख र बेबकुफ बनाइयो कि मध्य पृष्ठमा कामुक शरीरको तस्विर छापेर एउटा साप्ताहिक पत्रिका वर्षौ सम्म चल्यो र यसले वस्तुकरण गरिरह्यो।

महिला अधिकार न्याय र समानताको कुरा गरिरहदा हामी हाम्रै चेलीबेटी आमा दिदीबहिनी छोरी भतिजी वा साथीको समान हक र पहुचकोको कुरा गर्दैछौ , आफ्नै अस्तित्वको धरातल समान बनाउने कुरा गर्दैछौ।विज्ञापन बजारवाद र उपभोक्तावादको बहस भन्दा धेरै पछाडी , हामि संयुक्त राष्ट्र संगले सिर्जनात्माक प्रविधिमा नारीको समान पहुँचको कुरा गरिरहदा हामी पाषाण युगमा छौँ । जेल बाट छुटेकाहरुको फूलमाला र अविरजात्रा सेलिब्रेसन / उत्सव मनाउदै गरेको नेपालि समाजमा महिलाको वस्तुकरण विरुद्धको बहस असान्दर्भिक तिनीहरुका निम्ति हुनसक्छ जो बालिका बलात्कार जस्तो जघन्य अपराध लाई हलुका रुपमा लिने गर्दछन् ।

एउटा आम मानिसले मिडिया, मनोरञ्जन( इन्टरटेन्मेण्ट) उद्योग र फेसन उद्योगहरूले गरेको नारीको वस्तुकरण लाई बुझ्नु र विरोध गर्नु भनेको उसले आफ्नो छोरी बुहारी दिदी बहिनीको रुप रंग र शारिरीक बनावट हेरेर सुन्दर छन् कि छैनन भन्नेर गर्ने मुल्यांकन बाट मुक्त हुनु हो भगवान गौतम बुद्धले भने जस्तो सम्यक दृष्टि प्राप्त गर्नु हो। कर्पोरेट मिडिया घरानाहरु , मनोरञ्जन( इन्टरटेन्मेण्ट) उद्योग र फेसन उद्योगहरूले गरेको वस्तुकरणले मानवलाई आफ्नै छुट्टै इच्छा, विचार र भावनाहरूको जटिल अस्तित्व भन्दा धेरै पर धकेलेको छ र महिला लाई म कुनै चलचित्रको नायिका भन्दा किन सुन्दर छैन ? कुनै फेसन शोको मोडेल जस्तो म किन हुन् सकिन , कुनै विज्ञापनमा देखिने महिला जस्तो आकर्षक म किन छैन ? म किन कुनै स्टार मोडेल जस्तो अग्लो छैन जस्ता प्रश्न आफैलाई सोध्ने बनाएर आफु प्रतिको नकारात्मक सोच पैदा गर्न मात्र भूमिका खेलेको छैन महिलाहरुले आफुले आफुलाई हेर्ने दृष्टिकोणमा पनि गम्भीर असर गरेको छ।

नारीको सुन्दरताको चर्चा हुनु हुदैन नारीको सुन्दरताको सम्मान हुनुहुदैन भनेको हैन वस्तुकरण हुनु भएन प्रयोग हुनु भएन वस्तुकरणले के सुन्दर हो के हैन भन्ने कुरूपताको संस्कृति निर्माण गरेको छ जुन अन्त्य हुनुपर्दछ। एउटा महिला ले अर्को महिलाको शारीरिक बनावट हेरेर आफुलाई तुलना गरेर आफु खुसि वा दुखि हुने अवस्थाको अन्त्य हुनुपर्दछ ,हरेकको आफ्नै विशिष्ट सुन्दरता क्षमता भावना र विचार हुनसक्छ हरेकलाई आफ्नो शरीर सग गर्व गर्ने आफ्नो विशिष्ट अस्तित्वको अनुभूति गर्ने वातावरण मिल्नु पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्