अन्धोपनबाट जोगिन नियमित आँखा जाँच गराउनु पर्ने

अन्धोपनबाट जोगिन नियमित आँखा जाँच गराउनु पर्ने

विराटनगर । जलबिन्दु रोगका कारण हुनसक्ने अन्धोपनबाट जोगिन नियमित आँखा जाँच गराउनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

यो रोगका कारण दृष्टि गुम्दा फर्काउन नसकिने भएकाले पुर्व सर्तकता आवश्यक रहेको चिकित्सकहरुले बताएका छन् । विराटनगर मलायारोडस्थित दिब्यज्योती अस्पताल प्रालिले मार्च १२ देखी १८ सम्म आयोजना गरेको साताब्यापी जलबिन्दु सचेतना सप्ताहको समापन अवसरमा बोल्नुहुँदै अस्पतालका नेत्र तथा जलबिन्दु रोग बिशेषज्ञ डाक्टर प्रमोद शर्मा गौतमले प्रायजसो ४० बर्ष उमेर पार गरेका व्यक्तिहरु तथा परिवारमा जलबिन्दुको पृष्ठभुमि भएका व्यक्तिहरु यो रोगको जोखिममा पर्ने गरेको बताउनुभयो ।

अधिकांशमा लक्षण नदेखिने यो रोगका कारण दृष्टि गुम्दा फर्काउन नसकिने बताउनुहुँदै डाक्टर गौतमले समय मैं रोगको पहिचान गर्नसक्दा दृष्टि क्षमतालाई यथावत रोक्न सकिने बताउनुभयो । यो रोगका कारण दृष्टि सम्बन्धी नशा सुक्ने र बिरामीले अन्तिम समयमा मात्र थाहा पाउने भएकाले नियमित आँखा चेकजाँच गराउनुपर्ने डाक्टर गौतमले बताउनुभयो ।
नेपालमा २ प्रतिशत ब्यक्तीहरुमा यो रोग देखा पर्ने गरेको डाक्टर गौतमले जानकारी दिनुभयो । जलबिन्दु साताब्यापी कार्यक्रमको अवसरमा अस्पतालले जलबिन्दुको चेकजाँचमा निशुल्क ओपिडी,प्रयोगशाला परीक्षणमा २५ प्रतिशत छुट तथा विराट बहिरा माविमा निशुल्क शिवीर संचालन गरेको थियो । समापनको अवसरमा सचेतनामुलक प्रभातफेरी समेत निकालिएको छ ।

अस्पताल परिसरबाट निकालिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रभातफेरीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमागर्दै सिमाक्षेत्रमा गएर कोणसभामा परिणत भएको थियो । उक्त अस्पतालले बर्षेनी झण्डै १२ हजार आँखाको शल्यक्रिया र ५० हजारको आँखा परीक्षण गर्दै आएको जनाईएको छ ।

हालसम्म १० हजार जलबिन्दुका बिरामीको उपचार समेत गरिसकेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्