विराटनगर । विराटनगर–५ स्थित हुलाकी सडक निर्माणको काम नभएको भन्दै स्थानीय वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
निर्माण कम्पनी काम नगरेको भन्दै उनीहरुले स्थानीय सरकारमार्फत दवाव बढाउन वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
विराटनगर–५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर हुलाकी सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीयले बारम्बार दवाव सिर्जना गर्दै आएका थिए । तालाबन्दीमा सहभागीहरु बाबाचौकदेखि राममन्दिरसम्मको सडक निर्माण गरिनुपर्ने भन्ने माग गर्नेहरु छन् ।
आइतबार ११ः३० देखि १२ः३० सम्म वडा कार्यालयमा तालाबन्दी गरिएको राजकुमार खड्काले जानकारी दिए । वडा कार्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरिएको उनले बताए । स्थानीयले पूर्वनिर्धारित कार्यक्रम अनुसार आज वडा कार्यालयमा तालाबन्दी गरेर विरोध जनाएका हुन् । उनीहरुले यस अगाडी नै स्थानीय सरकारलाई चेतावनी दिईसकेका थिए ।
स्थानीय माग अनुसार काम तत्काल बढाउन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले केहिदिन अगाडी हुलाकी राजमार्ग अन्तर्गत त्यस खण्डको ठेक्का लिने ठेकेदारसँग छलफल समेत गरेका थिए । छलफलमा केहिदिन देखि नै काम सुरु गर्ने बताएका ठेकेदार अझै वेपत्ता भएपछि स्थानीय भने आन्दोलित बनेका हुन् ।
यो सडक खण्ड २०८० साउन १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमि कन्ट्रक्सनले ठेक्का लिएको थियो । तर, भूमि कन्ट्रक्सन निर्माण कार्य अलपत्र पारेर सम्पर्कविहीन भएपछि देव एण्ड सायर कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको थियो । यस अगाडी पनि स्थानीयले ढाट लगाएर आवतजावत बन्द गरेका थिए ।