विराटनगरमा पहिचानवादीको प्रदर्शन : निषेधित क्षेत्रतर्फ बढ्दा प्रहरीद्वारा अश्रुग्यास प्रहार, चारजना पक्राउ

विराटनगरमा पहिचानवादीको प्रदर्शन : निषेधित क्षेत्रतर्फ बढ्दा प्रहरीद्वारा अश्रुग्यास प्रहार, चारजना पक्राउ

विराटनगर । कोशी प्रदेशको नाम खारेज गरेर पहिचान समेटिने राख्नुपर्ने माग राखेर विराटनगरमा आइतबार पहिचानवादीहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । आन्दोलनमा संलग्न चारजनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ रोड शेषतर्फ बढ्ने क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

स्थानीय प्रशासनले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रतर्फ प्रदर्शनकारीको ठूलो संख्या बढिरहेको बेला प्रहरीले अश्रुग्याँस प्रहार गरेर प्रदर्शनलाई तितरबितर बनाएको छ ।

दिउँसो १ बजेदेखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रदर्शनका लागि जिल्लाजिल्लाबाट ठूलो संख्यामा पहिचानवादी प्रदर्शनकारी विराटनगर आएका छन् । आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्