विराटनगर । झापा अर्जुनधारा–८ का नेत्रप्रसाद गिरी र घैलाडुब्बा गाविस–१ का आयुश गिरी एउटै व्यक्ति हुन् । नेपालका दुई नागरिकताधारी नेत्र र आयुश गिरी भारतको आधार कार्डमा राजिव गिरी छन् । उनले भारतको आधार कार्ड कसरी लिएका हुन्, बेग्लै पाटो छ । नेपालको नागरिकता भने अर्जुनधारा बसोबास कायम रहेको सक्कली र घैलाडुब्बा गाविस–१ बसोबास भएको नक्कली भएको आशंका छ ।
छद्म नाम र कारोबार गर्दै महिलालाई फसाउन माहिर गिरी सोमबार विराटनगरको होटल एशियाटीकबाट पक्राउ परेका छन् । पीडित सुनसरी रामधुनी–३ सरस्वती कार्कीसहितको समूहले मोरङ प्रहरीलाई भनेर उनलाई पक्राउ गराउन सफल भएका हुन् ।
गिरी विरुद्ध प्रहरी प्रधान कार्यालयमा समेत ठगी विरुद्धको उजुरी रहेको छ । उनले देशभर २५ जना बढीलाई भिन्न–भिन्न कारोबारको वहानामा फसाएर रकम ठगी गरेको आरोप छ । त्यसमध्ये धेरै महिला पीडित रहेका छन् । छद्म नाम, छद्म कारोबारबाट महिलासँग जोडिएर गिरीले आफ्नो पकडमा राख्ने र गर्लफ्रेण्ड हुँदै श्रीमतीसम्म बनाएपछि छोड्ने गरेको आरोप छ ।
सुनसरी रामधनी –३ निवासी सरस्वती कार्कीलाई काठमाण्डौंमा नौ आना जग्गा पास गराउने बहानामा ३६ लाख रुपैँया ठगी गरेको आरोप छ । गत असारमा उनले २० लाख रुपैँया आनाले जग्गा दिने भन्दै सुरुमा ७ लाख नगद, १३ लाख आइपीएस र बाँकी नगद गरेर ३६ लाख लिएपछि सम्पर्कविहीन भएका थिए । कार्कीलाई जग्गा पास गरिदिने बताएर काठमाण्डौं बोलाएका उनी सम्पर्कविहीन भएपछि उनलाई खोजि गर्दा जडिबुटीमा उनले माइली श्रीमती राखेको कोठा भेटिएको थियो । तर, उनलाई नभेटाएकी कार्कीले जडिबुटीमा भेटिएकी गिरीकी माइली श्रीमतीबाट उनको विषयमा केहि जानकारी पाएकी थिइन् । गिरीसँगै रहेकी अर्की महिला कान्छी श्रीमती भएपनि दुवैजनाले दाजु–बहिनी भनेर चिनाउने गरेको कार्कीको दावी छ ।
उनी भारतीय गाडी नेपाल भित्र्याउँछन्
धेरै महिलालाई फसाउने झापाको अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका नेत्रप्रसाद गिरी (आयुश) ले भारतबाट सवारीसाधन ल्याएर नेपालमा नक्कली कागजपत्र बनाउँदै बिक्री गर्ने गरेको खुलेको छ ।
गिरीले झापाको बिर्तामोडका एकजना व्यवसायीसँगको मिलेमतोमा नक्कली कागजपत्र बनाउने गरेका हुन् । गिरीले भारतबाट गाडी नेपाल ल्याउँछन् । नेपालमा रहेका उनका साझेदारले यातायात व्यवस्था कार्यालय इटहरीका कर्मचारीसँगको मिलेमतोमा नक्कली ढड्डा तयार गरेर सक्कली बनाउने गरेको दावी छ ।
खासगरी कार वास सेन्टर र ग्यारेजमा गएका गाडीधनीलाई ‘आफू अप्ठ्यारोमा परेकाले सस्तैमा बिक्री गर्नुपर्ने’ भन्दै गिरीले फसाउने गरेको बताइन्छ । गिरीले बिक्री गरेका गाडीको अनलाइनमा समेत विवरण आउने बनाइएको छ । अनलाइनमा इन्ट्री गर्ने प्राविधिकसहित यातायात व्यवस्था कार्यालयका कर्मचारीसँग गिरीको सेटिङ रहने गरेको आरोप छ ।
मोरङ प्रहरीका प्रमुख दिपक पोखरेलले गिरीलाई होटलबाट प्रहरी कार्यालय ल्याइएको जानकारी दिए । उनले उनको ठगीधन्दाका बारेमा बुझेर मुद्दा कसरी चलाउने भन्ने विषयमा अनुसन्धान भईरहेको जानकारी दिए । धेरैतिर उजुरी भएपनि मोरङ प्रहरीमा अहिलेसम्म उजुरी परेको छैन । पीडितको आग्रहमा उनलाई कार्यालयमा ल्याएर बुझ्ने काम मात्रै भईरहेको बताइएको छ ।