विराटनगर भन्सार : ३१८ मेट्रिक टन भित्रियो साल धूप, गोकुल धूप र लाहा

विराटनगर भन्सार : ३१८ मेट्रिक टन भित्रियो साल धूप, गोकुल धूप र लाहा

विराटनगर । भन्सार कार्यालय विराटनगरबाट फागुनमा साल धूप, गोकुल धूप र लाहा चपडा मात्रै ३१८ मेट्रिक टन भित्रिएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै प्रगति गरेको भन्सार कार्यालयबाट धूप आयात भने उल्लेख्य भएको हो ।

फागुनसम्म धेरै आयात हुने २० वस्तुमध्ये साल धूप, गोकुल धूप र लाहा चपडाको पनि सूचि रहेको छ । यी तीन वस्तु १ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

गत आर्थिक वर्षमा ९४ लाख रुपैयाँ बराबरको ३० मेट्रिक टन मात्रै यी वस्तु भित्रिएको थियो । फागुन महिनामा मात्रै उक्त वस्तु ४२ लाख ८ हजार रुपैयाँ बराबरको १ लाख ८ हजार किलो नेपाल भित्रिएको छ । जसबाट १० लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गोकुल धूप पूजा पाठमा धूप बाल्न प्रयोग गरिन्छ भने सालधूप जडीबुटीको रुपमा प्रयोग गरिन्छ । लाहा भने विभिन्न धातु तथा काठजन्य वस्तुलाई टाँस्न प्रयोग गरिन्छ ।

भन्सार कार्यालयले फागुन महिनामा ३ अर्ब ६ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो महिनामा सो कार्यालयलाई ५ अर्ब ३७ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । कार्यालयले लक्ष्यको ५७.०७ प्रतिशत प्रगति गरेको हो ।
चालु आर्थिक वर्षमा भने वार्षिक राजस्व असुलीको लक्ष्य ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राखिएको छ । तर, फागुन महिनासम्मको राजस्व संकलनमा विराटनगर भन्सार कार्यालयले जम्मा वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशत मात्रै असुली गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्