विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीबीचको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
विराटनगरको सहिद रंगशालमा जारी फुटबल प्रतियोगितामा दुई टिमबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
आर्मी हालै सम्पन्न झापा गोल्डकपको उपाधि विजेता हो । आर्मीका लागि क्याप्टेन जिलेप्सीजंग कार्की र जवालखेललाई क्याप्टेन सिमान्त थापाले नेतृत्व गरेका छन् । २६औं मिनेटमा जिलेप्सीजंग कार्कीले प्रहार गरेको बल पोस्टमाथिबाट गएको थियो । आर्मीले राम्रा अवसरहरु प्राप्त गरे पनि तिनलाई गोलमा परिणत गर्न असफल भयो ।
३०औं मिनेटमा दिपक गुरुङको फ्रिकिक पासलाई जिलेप्सीजंग कार्कीले प्रहार गरे तर त्यो पोस्टमाथिबाट गएको थियो ।
जावलाखेलका खेलाडी फोडीफोफानालाई लडाएपछि आर्मीका भरत चौधरीले पहेँलो कार्ड पाए ।
यस वर्षको बिजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार दिईने छ ।
प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ । टिकेटिङ्ग पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ । क्वाटरफाइनल खेलसम्म २०० रुपैयाँ प्रतिगोटा टिकट दर तोकिएको छ । त्यसपछिका खेलका लागि खल्ती एप प्रयोग गरेर खरिद गर्दा ४०० र रंगशालामा खरिद गर्दा ५०० दर तोकिएको छ । प्रतियोगिता आयोजना गर्न २ करोड ५० लाख खर्च अनुमान गरिएको छ ।
विराटनगरमा २०१८ सालदेखि हुँदै आएको महेन्द्र गोल्डकपको रुपान्तरिक संस्करण विराट गोल्डकप २०५७ सालदेखि सुरु भएको हो । विराट गोल्डकपको यो सातौं संस्करण हो ।