सडक नो पार्किङ्ग अभियान विरुद्ध विराटनगरका व्यापारीद्वारा प्रतिरोध, नगर प्रहरीको सवारीमा लक

सडक नो पार्किङ्ग अभियान विरुद्ध विराटनगरका व्यापारीद्वारा प्रतिरोध, नगर प्रहरीको सवारीमा लक

प्रेम देवान
विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक देखिएको महानगरपालिका विरुद्ध व्यापारी प्रतिरोधमा उत्रन थालेका छन् । महानगरको कार्यले व्यापारलाई असर गरेको भन्दै व्यापारीले सडक निषेध पार्किङ्गको निर्णय विरुद्ध सांकेतिक रुपमा अवज्ञा दर्शाउन थालेका हुन् । उनीहरुले महानगरले घोषणा गरेको नो पार्किङ जोनमा पार्किङ गर्न गरेर बिहीबार विरोध जनाएका छन् ।

बिहीबार बिहान नो पार्किङ जोनमा राखिएका सवारी साधनलाई ह्विल लक लगाउने क्रममा नगर प्रहरीलाई नियन्त्रणमा लिएर उल्टै सवारीमा लक लगाई दिएका छन् । बजार एरीयामा पुगेका नगरप्रहरीको विधुतीय साईकलमा नै स्थानीय व्यापारीहरुले लक लगाई दिएका थिए । विराटनगरको शनिमन्दिर रोडमा एक सेवाग्राही एटिएमबाट पैसा निकाल्ने क्रममा रोकेको मोटरसाइकलमा लक लगाईएको थियो । सडक र सडक पेटीमा सेवाग्राहीले मोटरसाइकल रोकेका थिए ।

नो पार्किङ क्षेत्रमा मोटरसाईकल रोकेको भन्दै लक लगाएपछि आक्रोशित स्थानीयले नगर प्रहरीले प्रयोग गरेको विधुतीय साईकल नियन्त्रणमा लिएर लक लगाई दिएका थिए । नगर प्रहरीसँगै साइकलमा भएको लक निकालेर उनीहरुकै साइकलमा लगाई दिएपछि केहिबेर त्यहाँ चर्काचर्की समेत भएको थियो ।
नगर प्रहरीको कार्य विरुद्ध स्थानीय देखिएपछि नेपाल प्रहरीको वडा कार्यलय विराटनगर ‘ क ’ र महानगरको थप नगर प्रहरीलाई बोलाइएको थियो । नगर प्रहरीले मोटरसाईकललाई जरिवाना तिराएको थियो । तर, स्थानीयले नगर प्रहरीले पनि जरिवाना तिनुपर्ने माग गरेका थिए । नगरप्रहरी ड्युटीमा खटिएको बेला लक स्थानीयले लक लगाई दिएको गुनासो गरेका छन् । तर, ड्युटीमा खटिएका नगर प्रहरीलाई हस्तक्षेप गर्ने कार्य निन्दनिय भएको प्रत्यक्षदर्शी राजु श्रेष्ठले बताए । उनले महानगरको नेतृत्वलाई दवाव दिनुपर्नेमा महानगरले खटाएका नगर प्रहरीलाई अवरोध गर्नु गलत हुने बताए ।

दैनिक कामकाजमा खटिएका बेला अवरोध गर्नेहरुलाई कानुनी प्रक्रिया अनुसार कारवाही गरिने नगर प्रहरीले जनाएको छ । विराटनगरका व्यापारीहरुले बजार क्षेत्रमा घोषणा गरिएको सडक नो पार्किङ कार्य तत्काल फिर्ता लिएर व्यवस्थित गर्नुपर्ने माग गर्दै आएका छन् ।
विराटनगर महानगरपालिका नगर प्रहरीका प्रहरी निरीक्षक राजन पौडेलले विकल्पसहितको सडक निषेध पार्किङ अभियान सरोकारवालाको सुझावकै आधारमा तय गरिएको दावी गरे । उनले विकल्प दिएपछि सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्ने कुरा गलत रहेको बताए ।

केहीदिन अगाडी पनि ट्राफिक चौक स्थित ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत महानगरको टोलीले हटाएको थियो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको थियो । महानगरपालिकाले सडकबाट पार्किङ हटाएपछि विराटनगर फराकिलो र शान्त देखिएको छ । व्यापारीले चैतमा व्यापार खस्केको बताउँदै गुनासो गर्ने गरेका छन् । तर, अघिल्लो वर्षहरुमा सडकमा पार्किङ गर्ने छुट हुँदा समेत चैतदेखि असारसम्मको व्यापार न्यून हुन्थ्यो ।

विराटनगर मात्रै नभई आर्थिक मन्दिका कारण अहिले अर्थतन्त्र सुस्त देखिएको छ । विराटनगरमा अघिल्लो वर्षको तुलनामा औद्योगिक उत्पादन, सुन लगायतको कारोबार समेत खस्केको छ । सुनको व्यापारमा पार्किङले नभई आर्थिक मन्दी र मूल्यको प्रभाव देखिएको सम्बन्धित क्षेत्रका व्यापारीहरुले बताएका छन् । व्यापारीले महानगरले दिएको विकल्प कार्यन्वयन गर्न नसक्ने भए नयाँ विकल्प माग गर्नुपर्ने भएपनि सार्वजानिक सडक क्षेत्रमा पार्किङ्ग गर्न पाउनुपर्छ भन्ने माग भने जायज देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्