विराटनगरको पार्किङ्ग व्यवस्थापन : सरकार सधैं नालायक, नागरिक लायक !

विराटनगरको पार्किङ्ग व्यवस्थापन : सरकार सधैं नालायक, नागरिक लायक !

प्रदेश १ हुँदा तत्कालिन मुख्यमन्त्री शेरधन राईले पूर्वाधार निर्माणसँग सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुखहरुको एउटा छलफल आयोजना गरेका थिए । २०७५ सालमा आयोजना भएको छलफलको निष्कर्ष थियो–सडक सवारी गुड्न बनेका हुन्, त्यसको स्वरुप सडक कै जस्तो हुनुपर्छ । छलेन सडक आयोजनाका तत्कालिन प्रमुख बद्रीप्रसाद शर्माले विराटनगर क्षेत्र सबैभन्दा अस्तव्यस्त भएको भन्दै त्यसको सुधारका लागि स्थानीय तहले पहल लिनुपर्ने सुझाव दिएका थिए । उनले भनेका थिए–आयोजनाले निर्माण गरेको सडकको प्रयोग यातायात व्यवस्था विभागले गर्छ, त्यसको व्यवस्थापन ट्राफिक प्रहरी र सौन्दर्यता झल्काउने काम स्थानीय तहको हो । विराटनगरको रानीदेखि ढाटसम्म राष्ट्रिय राजमार्गमा जथाभावी पार्किङ छ । जसले सडकको प्रयोजन अनुसारको प्रयोग छैन । केन्द्रभागमा मात्रै एकोहोरो सवारी गुड्दा भारवहन गरिरहेको छैन । पार्किङ व्यवस्थापनको काम स्थानीय तहले जतिसक्दो मिलाउनुपर्छ ।

चार वर्ष अगाडी नेपाली युवा उद्यमी मञ्च, रोटरी क्लव अफ विराटनगर फ्यूजन र लायन्स क्लव अफ विराटनगर योङहार्ट र बारी नामक संस्थाले ‘विराटनगर कोरा’ कार्यक्रमको आयोजना गरेका थिए । त्यसमा विराटनगरलाई साइक्लिङ्ग सर्किटले जोड्ने थियो । युवा उद्यमी मञ्चका उपाध्यक्ष यूनेशराज श्रेष्ठे अब शहरमा साइकल लेन निर्माण गर्ने र साइकल स्टेण्ड बनाउने काम गरिनुपर्दछ भनेका थिए ।

मोरङमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा हुँदा काशीराज दाहालले विराटनगरको पार्किङ व्यवस्थापन बारे चासो राखेका थिए । उनले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई स्थानीय तहसँगको साझेदारीमा पार्किङस्थलको खोजि गर्न निर्देशन दिएका थिए । त्यसबेला महानगरपालिकाका प्रमुख भीम पराजुली थिए । स्थानीय प्रशासनको छलफलमा उनी उपस्थित नभएपनि महानगरपालिकाको प्रतिनिधित्व थियो । धेरै प्रयत्न हुँदा पनि स्थानीय तहले त्यो भूमिका निर्वाह गरेन । त्यसको निष्कर्ष डाईनामिक लिडर नहुँदा बजारको अस्तव्यस्त व्यवस्थापन गर्न नसकिने रहेछ भन्ने सिडिओ दाहालले निकालेर फर्के ।

आजको स्थिति
विराटनगर महानगरपालिकामा गत बैशाख ३० को निर्वाचनपछि नयाँ नेतृत्व आयो । विराटनगरलाई व्यवस्थित गर्नुपर्नेमध्येका एउटा काम पार्किङ व्यवस्थापन रहेको औंल्यायो । विकल्पसहितको पार्किङ व्यवस्थापनको काम गरेको थियो । यो काम आजको आवश्यकता मात्रै नभई धेरै लामोसमयदेखि उठेको माग थियो । जसले शहरलाई सुन्दर र शान्त बनाएको थियो । तर, त्यसको कार्यन्वयनमा विराटनगरका व्यापारी अवरोधक बनेका छन् । उनीहरुले महानगरको निर्णयलाई अवज्ञा गर्दै आएका छन् । जसले अवज्ञा गरेका छन्, उनीहरुमध्ये धेरैले निर्वाचनको समयमा बजारको पार्किङ व्यवस्थापन गर्ने शर्तमा भोट दिएर जिताएका थिए । तर, तिनै जनप्रतिनिधिको निर्णय विरुद्ध उनीहरु उत्रिए ।

पार्किङकै कारण व्यापारमा कमि आएको दावी व्यापारीको छ । तर, उनीहरुले अघिल्लो वर्षको व्यापार र अहिलेको व्यापार अनुपात आंकलन गरेनन् । व्यापार अनुपात आंकलन इन्डिकेटर भन्सार र राजस्व कार्यालयको तथ्यांक, अन्तराष्ट्रिय बजारको अवस्था, बैंक ब्याज, ऋण लिन नपाएको अवस्था, जथाभावी सहकारी डुबेका घटना, कोरोनापछि परनिर्भर अर्थतन्त्र भएका मुलुको अवस्था, राष्ट्रिय अर्थतन्त्रको प्रभाव जस्ता विषय बारे व्यापारी जानकार छन् । तर, पार्किङ नै समस्या भएको एकोहोरो रटान लगाउँदै सुधारको प्रयासमाथि अवज्ञा बोलिदिए । सामान्य रुपमा हेर्दा दशैं, तिहार र छैठपछि विवाह, ब्रतबन्ध परेका घर बाहेकको किनमेल एकाएक घट्छ । अतिआवश्यक पर्ने वस्तु बाहेक खरिद गर्ने संख्या घटेपछि बिक्री कारोबार पछि घट्छ । वर्षेनी भन्सारको तथ्यांक हेर्ने हो भने मंसिरपछि बैशाखसम्मको आयात स्वतः घट्छ । राजस्वमा समेत त्यसले प्रभाव पारेको हुन्छ । बैशाखपछि बजार सुस्तरी चलायमान हुन्छ । साउनदेखि पूर्ण चलायमान हुने गरेको छ ।

सिजन अनुसारको व्यापार
जसरी साउनपछि चाडपर्व लक्षित बजारमा पहिरनजन्य र खाद्यन्न सामाग्रीको माग बढ्छ, त्यसरी निर्माण सामाग्रीको माग घट्दो क्रममा हुन्छ । मंसिरपछि असारसम्म निर्माणजन्य वस्तुको माग बढ्छ तर खाद्यन्न र पहिरन जस्ता वस्तु खरिदकर्ता घट्छन् । विद्यालयको भर्ना अभियान सुरु भएपछि स्टेशनरी पसलमा लागेको भीड सबैतिर नहुनसक्छ । पोशाक, जुत्ता र ब्याग पसलमा लाग्ने भिड फेन्सी कपडा र कस्मेटिक आईटममा लाग्दैन । क्रेताको आवश्यकता अनुसार बजार चक्र हुन्छ । विराटनगरका व्यापारीलाई सडकमा पार्किङ्ग गर्न नपाउँदा ग्राहक नआएको भान परेर हैरान पारेको छ ।

लोकतन्त्रमा स्वअनुशासन
नागरिकले सरकार लोकतन्त्रलाई अंकुश लगाउने गर्छ भन्ने आवाज उठाउने गर्दछन् । केहिदिन अगाडी विराटनगर महानगरको नगर प्रहरीको सवारीमा उनीहरुले यहि आवाज उठाउँदै लक गरिदिए । ‘हाम्रो मोटरसाइकलमा लक लगाउने भए तिम्रो साइकलमा पनि लक हुनुपर्छ’ भन्ने मान्यता उनीहरुको थियो । तर, व्यापारीले दिनभर व्यापार गर्ने ड्युटी भएजस्तै नगर प्रहरीले निर्देशन पालना गराउने ड्युटी भन्ने बुझेनन् । ‘लोकतन्त्र स्वतन्त्रताको नाममा स्वछन्दता मात्रै हैन स्वनियम र स्वअनुशासन’ हो भन्ने कुरा नागरिकले नबुझ्दासम्म नेतृत्वले पनि बुझ्न सक्दैन । किनकी नेतृत्व भनेको पनि हाम्रै समाजको एक व्यक्ति मात्रै हुन्छ । नेतृत्व सर्वश्रेष्ठ हुँदैन, उ नागरिक एक प्रतिनिधि हुन्छ । जसले कानुनले दिएको परिधिभित्र बसेर नागरिकको काम गर्दछ । तर, चारवर्ष अगाडी नेपाली युवा उद्यमी मञ्चले उठाएको शहरमा साइकल लेनको माग सडकमा भएको अस्तव्यस्त पार्किङ व्यवस्थापन नगरी कसरी संभव होला ? अनि नेपाली उद्यमी मञ्चले सडकबाट पार्किङ्ग हटाउनुको कारण बारे प्रश्न कसरी सोध्न सकिरहेको छ ? यदि आगामी शनिबार रोटरीले आयोजना गर्ने साइक्लोथन कार्यक्रम सडकका दुईतर्फ सवारी पार्किङ गरिएको अवस्था भए सहज होला । सोच्ने कुरा त एउटै मात्रै पनि छैन ।

सकारात्मक काममा सधैं अंकुश
नेपाली माटोमा हुर्केका नागरिक नै नेतृत्वमा पुग्ने गर्दछन् । उनीहरुको धेरै आलोचना यहि माटोमा हुर्केका नागरिकले गर्दछन् । आम नागरिकको आवश्यकता समेट्ने गरि सुरु भएको अभियानमा आफैं प्रश्न उठाउने नागरिक स्वभाव बढ्दो देखिन्छ । त्यहि भएर पनि नेतृत्वमा पुगेपछि नेताको बोलिको टुङ्गो खुस्किन्छ होला । हाम्रो आफ्नै चलन हेर्ने हो भने पनि मेल खाईहाल्छ । विराटनगर बजारमा पार्किङ व्यवस्थापन गर्न तोकिएका स्थान र हाम्रो बजारको दुरी जता मोडिएर हिँडेपनि ५०० मिटरमा पर्दैन । आफ्नै बजारमा पाँचसय मिटर भित्र पर्ने दुरीमा सवारी पार्किङ्ग गरेर सामान खरिद गर्ने काम हामीलाई गाह्रो छ । तर, जोगबनीको चेपुवा बजार पुग्नका लागि नेपाली ग्राहकले रानी बोर्डर अगाडी सडकमा सवारी रोकेर पल्लोछेउको पसलमा पुग्छौं । टन्न सामान किन्छौं । जीउ निहु¥याउँदै हात चुडिएला जस्तो गरेर बोकेर आउँछौं । भन्सार नबुझाईकन ल्याउन पाएको सामानमा गर्भ गछौं तर सामानको गुणस्तरसँग मतलव गर्दैनौं ।

सडक पार्किङस्थल
विराटनगर बजारमा सडक पार्किङस्थल बन्नु आम नागरिकका लागि लाभदायक देखिदैन । सहायता सामाग्रीको भरमा हिड्नुपर्ने नागरिक पनि छन् । सडकको छेउबाट हिड्नुपर्ने ज्येष्ठ नागरिक पनि छन् । काखमा बच्चा च्यापेर हिड्नुपर्ने आमा पनि छन् । उनीहरुका लागि पार्किङ्ग गरेर रोकिएका सवारी नै दुर्घटनाका कारण बन्न सक्छन् । किनकी पार्किङका सवारीले सडकको आधा भाग ढाकेरपछि हिड्नुपर्ने फुटपाथ पनि व्यापारीको सामानले घेरेको हुन्छ । सडककै केन्द्र भागतर्फबाट यस्ता नागरिकलाई हिँडडुल गर्न कति असजिलो होला ? मुटुमा हात त व्यापारीले पनि राखेका होलान् कतिपटक ! यस्ता भावनालाई सम्बोधन गर्ने सार्वजानिक पार्किङस्थलको अवधारणालाई सार्थक बनाउनु बाहेकको विकल्प कसरी देखिरहेका छन् । सडकलाई सडक नै बन्न छोडिदिएर स्थानीय सरकार विराटनगर महानगरपालिकासँग थप पार्किङस्थल, त्यहाँ सुरक्षा प्रवन्ध जस्ता कुराको माग राख्नु नै अहिलेलाई श्रेयकर हुनेछ । नत्र विराटनगर नाम मात्रै रहेर बाँकी खोक्रो हुननसक्ला भन्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्