विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आइतबार मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि अल्टिमेटम पत्र बुझाएको छ ।
मुख्यमन्त्री कार्की काठमाडौंमा भएका कारण आन्दोलनकारीको ज्ञापन प्रदेशका मन्त्री तिलकुमार मेन्याङ्बोले बुझेका हुन् ।
मन्त्री मेन्याङ्बोले पत्र बुझिसकेपछि प्रदेशलाई नामविहीन प्रदेशको दबाबले नामकरण गरिएको बताएका छन् । सबैधानीक प्रकृर्यावाट नामाकरणको विष टुङ्गिएका बताउदै उनले चार जना बाहेकका सांसदले समर्थन गरेको स्मरण समेत पहिचान पक्षधरलाई गराएका छन् ।
सभामुख बाबुराम गौतमले पनि नामविहीन प्रदेशले संघीयता कमजोर हुने भयले नामकरण गरिएको बताए । उनले पुनः नामकरणको सम्भावनाको ढोका खुला नै रहेको समेत बताए ।
सभामुख गौतमले प्रदेशको नामकरण नगर्दा संघीयता खारेजीको आवाज थप बलियो भएर जाने भएकाले प्रदेशको नामकरण भएको उल्लेख गरे ।
उनले सार्वभौम सत्ता सम्पन्न प्रदेशसभा सदस्यबाट प्रक्रियाबाट नामको प्रस्ताव आएकाले प्रक्रियाबाट प्रदेशको नाम पारित भएको बताए ।
फागुन १७ गते प्रदेशको नाम कोशी राखिएसँगै प्रदेशमा पहिचानवादी संघसंगठनले आन्दोलन सुरु गरेका छन् ।
त्यसैक्रममा चैत ४ मा विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा चैत १० मा मृत्यु भएको थियो। उनलाई शुक्रबार सरकारले सहिद घोषणा गरेको छ। यद्यपि उनको शव भने उठ्न सकको छैन ।