विराटनगर । पदम लिम्बू (लाजेहाङ)लाई सरकारले सहिद घोषणा गर्ने र परिवारलाई दश लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
आज (मंगलबार) बसेको मन्त्री परिषदको बैठकले आन्दोलनको क्रममा घाइते भई उपचारको क्रममा मृत्यु भएको लिम्बूलाई सहिद घोषणा गर्ने र दश लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशमा विभिन्न चरणको आन्दोलन भईरहेको छ । आन्दोलनको क्रममा चैत्र ५ गते विराटनगरमा भएको प्रर्दशनमा घाइते भएको लिम्बूको १० गते उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई २४ गते नै सहिद घोषणा गर्ने निर्णय गरेको भए पनि क्षतिपूर्ति दिने निर्णय भएको थिएन ।
उनको शव अझै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा नै रहेको छ ।
कोशी प्रदेश पुनः नामाकरण संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सभामुख बाबुराम गौतमलाई दश दिनको अल्टिमेटम पत्र समेत बुझाएका छन् ।