विराटनगरमा घरेलु उद्योगका उत्पादनको सौगात गृह स्थापना गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगरमा घरेलु उद्योगका उत्पादनको सौगात गृह स्थापना गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरणमा सरकारले सहयोग गर्ने बताउनु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं र महिला उद्यमी समिति मोरङको २० औं साधारणसभामा बोल्नु हुँदै मुख्यमन्त्री कार्कीले उत्पादित वस्तुको बजार प्रवद्र्धनमा सरकारले लगानी गर्ने बताउनु भएको हो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पहिलो चरणमा संभाव्यता अध्ययनलाई र दोस्रो चरणमा एकिकृत बिक्री केन्द्र स्थापनाका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुको बिक्रीका लागि विराटनगरमा एकिकृत बिक्री केन्द्र स्थापनामा लगानी गरिने बताउनुभयो । ‘गुणस्तरीय वस्तु राम्रो प्याकेजिङ्गमा राखेर ब्राण्ड बनाउँन सक्दा बजार प्रशस्त रहेको छ’ मुख्यमन्त्री कार्कीले भन्नुभयो–यसका लागि घरेलु उत्पादन बिक्री गर्ने बजार प्रवन्धमा सरकारले लगानी गर्नेछ ।

उहाँले जनशक्ति निर्यात गरेर आन्तरिक उत्पादन प्रवद्र्धनमा जोड नदिएका कारण नेपालको आर्थिक स्थिति कमजोर बन्दै गएको बताउनुभयो । बैंकहरुलाई मुनाफामुखी हुने नीतिका कारण उद्योगहरुको अवस्था कमजोर बन्दै गएको मुख्यमन्त्री कार्कीको भनाई थियो । रेमिट्यान्स बढ्नु र विदेशी मुद्राको संचिति बढ्नुले केहि सकारात्मक सन्देश दिएपनि संघीय सरकारले ल्याउने आगामी बजेट औद्योगिक प्रवद्र्धन केन्द्रीत हुनुपर्नेमा उहाँको जोड थियो ।

राष्ट्रिय पूँजीको विकासका लागि घरेलु तथा साना उद्योगको महत्व बढाउन आवश्यक रहेको बताउँदै मुख्यमन्त्री कार्कीले ८ प्रतिशतमा लिएको ऋणको १६ प्रतिशत ब्याजदर कायम गर्ने बैंकहरुमाथि अंकुश लगाउन आवश्यक रहेको बताउनुभयो । समग्र अर्थतन्त्र प्रणालीमा सकारात्मक सन्देश नदेखिएको बताउँदै उहाँले आयातले किच्दै जाँदा आन्तरिक उत्पादन र निर्यात कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । व्यापार घाटा वर्षेनी बढाएर नेपाली अर्थतन्त्र टिक्न नसक्ने बताउँदै मुख्यमन्त्री कार्कीले जनमुखी नीति र बजेटको जरुरी परेको बताउनुभयो ।

कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले साना तथा घरेलु उद्योगको संरक्षणमा सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले घरेलु तथा साना उद्योगको अध्ययन गरेर उत्पादन, रोजगारी, कारोबार लगायतका विषयको प्रतिवेदन तयार पारेर प्रदेश सरकारले सौगात केन्द्र स्थापना गर्ने बताउनुभयो । उहाँले एउटै छानामुखी घरेलु उद्योगका उत्पादन पाइन्छ भन्ने सन्देश दिनसक्दा खरिदकर्ता आउने र वस्तु बिक्री हुने बताउनुभयो । महासंघले संरचना तयार पार्ने जग्गा व्यवस्थापन गर्नसके प्रदेश सरकारले लगानी गर्ने उहाँँको दावी थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले मोरङमा चार हजार १०० को संख्यामा लघु घरेलु तथा साना उद्योग रहेको जानकारी दिनुभयो । उहाँले जिल्लाका १७ पालिकामध्ये ८ वटामा पालिकास्तरको समिति विस्तार भएको र पाँचवटा वस्तुगत संघ रहेको बताउनुभयो । महिला उद्यमी समिति अध्यक्ष सुनिता छाराहाङ्गले घरेलु तथा साना उद्योगमा महिलाहरुको उल्लेख्य सहभागिता रहेपनि राज्यले प्राथमिकता नदिदाँ सञ्चालनमा समस्या रहेको बताउनुभयो । उहाँले महिलालाई स्वरोजगार बनाउने क्षेत्रको रुपमा घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्