बैंकको कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुग्यो : मुख्यमन्त्री कार्की

<span class='c1'>बैंकको कारण स्वदेशी उद्योग धराशायी</span> <span class='c2'>अवस्थामा पुग्यो : मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले बैंकले तरलताको अभाव देखाएर वृद्धि गरिएको ब्याजदरका कारण उद्यमी लुक्न, उद्योग बन्द गर्न र पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले साना उद्यमीले जग्गा उपलब्ध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराटनगरमा भण्डारगृहको निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले साना उद्योगले बजारीकरणका लागि आफ्नो उत्पादन गणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै बलियो प्याकेजिङका लागि आवश्यक पर्ने औजारलगायतका सामग्री सरकारले उपलब्ध गराउने बताउनुभयो ।

उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले दीर्घकालीन कृषि नीति ल्याउन विज्ञसँग छलफल गरी आवश्यक सुझाव सङ्कलन गरेको बताउँदै कृषिउपज आयात नियमन गरी विषादीलगायत आवश्यक जाँचकोे लागि क्वारेण्टाइन कार्यालय थप गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका मोरङ अध्यक्ष चेतन निरौला, केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यमी समितिकी प्रदेश अध्यक्ष शिवा उपाध्यायलगायतले साना उद्योगलाई प्रवद्र्धन गर्न सरकारले आवश्यक नीति, कानुन बनाइ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा रोजगारी, सीप प्रदान गर्ने नरेश खत्री, सायदा तवसुम, तुलसी ढकाल र यमुना पोखरेललाई सम्मान गरिएको छ । मोरङ जिल्लामा चार हजार एक सय साना उद्योगमा रु चार अर्ब लगानी भएको छ भने २५ हजारले रोजगारी प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्