नयाँ वर्ष सिर्जनशील सोच

नयाँ वर्ष सिर्जनशील सोच

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन नयाँ वर्ष मनाइन्छ । नेपालमा २०८० सालको प्रारम्भ भएको छ ।

अर्थात् आज बैशाख १ गते नेपालीमनहरुमा नयाँ वर्षको उमङ्ग छाएको छ । आज परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ । हामी सबैसँग विगत बिर्सेर भविष्यका लागि नयाँ सिर्जनशील नयाँ सोचको कामना गर्दछौं ।
विक्रम सम्वत् पात्रो अनुसार सौर्यमानक हिसाबले बैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो।

प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रो अनुसार वर्षको आरम्भ नेपालमा बैशाख महिनाको पहिलो दिनबाट हुन्छ । विक्रम सम्वत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्वत् लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो । यस सम्वत् सूर्य सँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा विक्रमादित्यले आरम्भ गरेको विक्रम सम्वत्को नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको कार्यकाल देखि प्रचलनमा आएको हो ।

पात्रो र सम्वतसँग इतिहास जोडिएको छ । वर्तमान निर्माण गर्न इतिहास सम्झनु पर्दछ । तर, इतिहास पुनरावृत्ति गर्न हुँदैन । सुचना र प्रविधिले फड्को मारेको विश्वमा हाम्रो मौलिकतालाई जोड्न सक्ने सामर्थ नयाँ वर्षले थप्नु पर्दछ । नकारात्मक भावले भरिएका मानसिकतालाई सकारात्मक सोचमा बदल्न सक्ने हो भने सिर्जनाहरु अंकुराउने छन् । मनस्थितिले निर्माण गरिदिने बाटाहरुलाई सकारात्मक पक्षसँग जोड्न सक्नु नै नेपालीहरुका लागि नयाँवर्ष शुभकामनासहितको सार्थकता फुलाउनु हुनेछ ।

नेपालीलाई नयाँ वर्षले उत्साह त थप्छ । नयाँ वर्षसँगै सुरु हुने विभिन्न जातजातिका चाडपर्व र रितिरिवाजहरु पनि जोडिन्छन् । सरकारका वार्षिक कार्यक्रमहरु बजेटमार्फत प्रस्तुत हुन्छन् । समग्र पक्ष समेट्ने नयाँ वर्ष २०८० सिर्जनशील सोचसँग जोडिएर उत्साह भरियोस् । काम गर्ने शैलीमा परिवर्तन जरुरी रहेको नेपालीहरुका लागि विश्वलाई देखाएर विश्लेषण गर्ने भन्दा पनि नेपाली माटोमा बदलिने सोचको जरुरी रहेको छ । त्यसैले नयाँ जोस, जाँगर, उत्साह, सिर्जनशीलताले नेपालीमनहरु उजागर बनुन् । हामी हाम्रा लागि आफैं गर्न सक्छौं भने मात्रै बुद्धिमताको इतिहास राख्दछौं । हामी हाम्रा लागि केहि नगरेर अर्काको उदाहरण देखाउँदै बस्छौं भने मुर्खताको इतिहास कोर्नेछौं । त्यसैले नयाँ वर्ष २०८० सिर्जनशील सोचसहित भित्रियोस् शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्