सहिदको शवयात्रामा आक्रोश

सहिदको शवयात्रामा आक्रोश

सुजता लिम्बु
विराटनगर । ‘शान्तिपूर्ण शव यात्रा गर्ने भन्दाभन्दै, प्रहरीले किन बाटो छेक्नु ?’ हुँइकिएर आएको गाडीबाट ओर्लिएर प्रहरीतर्फ जाइलागे लिम्बूवान भोलेन्टियरका युवाहरु । उनीहरु चढेको गाडीभन्दा पछाडी आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव राखिएको एम्बुलेन्स थियो ।

उनै लिम्बूको शव यात्राका क्रममा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भए । प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा शनिबार दिउँसो रोडशेष चोक क्षेत्र एकाएक तनावग्रस्त भयो । त्यसो त आजभोलि रोडशेष चोक आन्दोलन गर्ने थलो नै बनेको छ भन्दा फरक पर्दैन । शव यात्राकै क्रममा आन्दोलनकारी पक्ष आक्रोशित ढंगबाट आउला भन्ने कुनै अपेक्षा समेत नगरेको ड्युटीमा खटिएका प्रहरीहरुको भनाई थियो । शवयात्रा भएकै कारण पनि प्रहरी, प्रशासनले संयमता अपनाएको आन्दोलनमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

‘उहाँहरु त शान्तिपूर्ण तरिकाले आउने भन्ने थियो, हामी धेरै संयम भएका हाँै, उहाँहरुसँग शव साथमा थियो अशान्ति चाहेका हैनौँ, ती अधिकृतले भने, ‘तर, उहाँहरु आक्रमक ढंगले प्रस्तुत हुनुभयो ।’
झडपका क्रममा नेपाल प्रहरीका तीनजना र सशस्त्र प्रहरीका तीनजना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । यता, आन्दोलनरत पक्षका पनि ६ जना घाइते भएको किरात राई यायोख्खाकी सचिव कुन्ता राईले जानकारी दिइन्।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न ८१ सेल अश्रुग्याँस समेत प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अनियन्त्रित आक्रोश
त्यसो त अक्रोशित भीडलाई आन्दोलन पक्षका नेतृत्वले रोक्न खोज्दा समेत नियन्त्रणमा आउने अवस्था थिएन । यद्यपी करिब आधा घण्टाको झडपपछि स्थिति नियन्त्रणमा आएको थियो । ईटहरीदेखि विराटनगरसम्म आइपुग्दा सुरक्षाको क्षेत्रमा केहीँ असहज नदेखिएको विराटनगर आइपुग्दा राष्ट्रिय सहिदको शव यात्रामा नेपाल सरकारले निषेधित क्षेत्र तोक्नु असहज देखिएको किरात याक्थुङ चुम्लुङको केन्द्रिय अध्यक्ष प्रेम याक्तेन बताउछन् । सरकारले घोषणा गरेको राष्ट्रिय सहिदको शव यात्रामा नेपाल सकरकारले निषेधित क्षेत्र तोकेर बाटो छेकेर जनतालाई आक्रोशित गराउनु नै गलत रहको उनको भनाई थियो ।

‘शान्तिपूर्ण तरिकाले शवयात्रा गर्नु दिनुपर्ने थियो,’ उनले भने,‘ एउटा सहिदको शवलाई यात्रा गराउँदा घरको छतमा चढेर फायरिङ गर्नु राज्य भिड्न तयार भएको जस्तो देखियो राज्यले त्यस्तो गर्नु हुँदैन थियो । ’ उठेको एजेण्डालाई राज्यले सम्बोधन गर्ने भन्दा पनि गोलीगठ्ठा बलियो बनाउने रणनितिक तरिकारले चेन्ज गर्नु राम्रो नभएको उनले बताए । राज्यले कुनै खाल्को पहल नगर्ने र आन्दोलनलाई बेवास्ता गरेर जे सुकै गर भन्ने खाल्को धारणा रहे आन्दोलन नरोकिने उनले दाबी गरे । बैशाख १० गतेसम्मको अल्टिमेटम दिँदासमेत सरकारले बेवास्ता नगरेको र छलफल नगरेको र प्रक्रियामा लग्नलाई संसद समेत आवहन नगरेको बताउदै उनले अझ सरकार पक्षले मिडियमा विभिन्न धारणा व्यक्त गर्ने जस्ता गैर जिम्मेवारी राज्यपक्षबाट नै भएको उनले बताए ।

उनले भने,‘यो आन्दोलन सरकारलाई जिस्काउन मात्रै गरिएको विषय होइन, त्यसैले आन्दोलन राकिदैन, अगाडी बढ्छ ।’
आन्दोलनमा भएका गतिविधिलाई अराजकता भन्न नहुने र आन्दोलनमा यस्तो हुनु स्वभाविकै रहेको पत्रकार एवम् विश्लेषक भवानी बराल बताउछन् । शव यात्रामा प्रहरी ज्यादती भएको दाबी गर्दै उनले भने,‘प्रहरीले शव यात्रालाइ बाधा दिनु हुन्न थियो ।’
राज्यले अझै पनि आन्दोलनको कुनै सुनुवाइ नगर्दा आन्दोलनकारीमा हतासा, आक्रोस र उकुसमुकुस बढ्दै गएको लेखक एवम् कवि स्वप्निल स्मृति बताउछन् । राज्य हाम्रो पनि हो भन्ने अपनत्वको महसुस गराउन नसकेको खण्डमा जे पनि गर्न तैयार हुने मनोविज्ञान निर्माण भएर जाने बताउदै उनले राज्य संवेदनशील हुनुपर्नेमा जोड दिए ।

केन्द्रको पर्खाईमा प्रदेश सरकार
यता, पुनः नामकरणको माग राख्दै चर्किदै गरेको आन्दोलनका विषयलाई कसरी सुल्झाउने भन्ने बारे प्रदेश सरकार केन्द्रको पार्खाइमा रहेको छ । चैत्र ५ गते कोशी प्रदेश पुनः नामकरणको माग राख्दै विराटनगरको आन्दोलनमा घाइते भई उपचारकोक्रममा लाजेहाङको मृत्यु भएपछि केन्द्रबाट गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय छनवीन समिति गठन गरिएको छ । सोही अनुसार केन्द्रको रिपोर्टलाई हेरेर त्यसपछि वार्तामा जाने या के गर्ने भन्ने टुंगो हुने कोशी प्रदेश सरकारका प्रवक्ता एवम् कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाल सिटौलाले बताए । उनले हिंसात्मक ढंगबाट वार्तामा खलल पुग्ने बताउदै आन्दोलनलाई गम्भिरताका साथ लिएको बताए । शान्तिपूर्ण ढगबाट निकास आउने ठाँउमा समस्याको समधान बन्दुकको ब्यारलबाट नभएको बताए । उनले आन्दोलन पक्षलाई हिंसात्मक ढंगले अगाडी नबढ्न समेत अनुरोध गरेका छन् ।

‘आन्दोलनकारीपक्षलाई हिंसात्मक ढंगले अगाडी नबढ्न अनुरोध गर्छु , संवैधानिक ढंगले अगाडी बढ्दा संविधान भित्रबाट नै समस्याको समाधान आउछ,’ उनले भने,‘ अहिले भइरहेको आन्दोलनलाई केन्द्रले छानविन आयोग बनाएर काम गरिरहेका छ त्यसको रिपोर्ट आएको छैन, त्यसको रिपोर्ट आएपछि वार्तामा जाने या के गर्ने भन्ने हुन्छ ।’
आन्दोलनलाई नजिकबाट हेरिहेको बताउदै उनले राजनीतिक कुरा रहेको र शान्तिपूर्ण ढंगले वार्तामा जानुपर्नेमा जोड दिए ।
‘यो राजनीतिक वार्ता हो, मान्छेको सहमित असहमति हुन्छन्, असहमति संविधानले व्यवस्था गरेको विषय हो उनले भने, ‘कुनै पनि विषयमा असहमित राख्न पाइन्छ, कानुनको दायरा उल्ङघन नगरी शान्तिपूर्ण ढंगले उहाँहरुले आफ्नो कुरा राख्दा हुन्छ यसलाई हामीले गहिरिएर लिएका छौँ ।’

गत चैत्र ५ गते विराटनगरमा पुनः नामकरणको माग राख्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा चैत्र १० गते मृत्यु भएको थियो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएका उनलाई चैत २४ को मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गरेको थियो । सहिद घोषणा गरेपछि लिम्बूको शव सनिवार मोरङस्थित बेलबारीमा अन्तिम दाहसस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्