विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले विराटनगरको उद्योग संगठन मोरङमा आइतबार बिशेष सभा सम्पन्न भएको छ ।
डा.भेष प्रसाद धमलाको अध्यक्षतामा बसेको सभाले मर्जर सम्बन्धिको प्रस्ताव पारित गर्दै बिशेष सभा सम्पन्न भएको हो ।
उक्त अवसरमा संयुक्त मर्जर कमिटीका संयोजक तथा नेरुडेका संचालक मणि कुमार अज्र्यालले मर्जरको आवश्यकता र औचित्यताबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सभाले नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको हो ।
त्यसैगरी एक आपसमा गाभिए पश्चात बन्ने लघुवित्त संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड रहने, दुबै लघुवित्त कम्पनीको शेयर अनुपात क्रमशः १ः१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौंता पत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध सम्झौताहरुको अनुमोदन गर्ने, चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक/मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमा गाभ्ने/गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही/प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारित भएको छ । यसका अतिरिक्त प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पूँंजी संरचना परीर्वतन लगायतका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।
मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त लिमिटेड र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड बीच गत पौष ११ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो। २०७९ माघ २६ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरी मर्जर सम्बन्धिको काम कार्यवाही अगाडी बढाईएको थियो ।