सीमा जोडिएको विराटनगर सधैं किन सुस्त ? यस्तो छ सीमावार र पारको मूल्य आंकडा

सीमा जोडिएको विराटनगर सधैं किन सुस्त ? यस्तो छ सीमावार र पारको मूल्य आंकडा

विराटनगर । विराटनगरका व्यापारीको सधैं एउटै गुनासो हुन्छ । बजार मन्दि छ खरिद–बिक्री छैन । प्रसङ्ग बिनाका मुद्दा उठाउँदा समेत विराटनगरका व्यापारी भन्न भुल्दैनन–जोगबनीका व्यापारी पोस्न यहाँ यस्तो निर्णय लागु गरियो । जस्तै विराटनगर महानगरपालिकाले सडक पार्किङ निषेध गर्ने निर्णय गर्दा यहाँका कतिपय राजनीतिक दलका नेतादेखि व्यापारीसम्मले पनि भन्न भ्याए–‘जोगबनीका व्यापारी पोस्न विराटनगरमा पार्किङमा कडाई गरियो ।

तर, तथ्य भने फरक रहेको छ । तराईका अधिकांश ठूला शहर नेपाल–भारत सीमा नजिक रहेका छन् । देशका १४ ठूला शहरमध्ये विराटनगर पनि सीमासँग छिमेक छ । सीमापार जोगबनी बजार छ । सीमावार रहेको विराटनगर सधैं सुस्त देखिदाँ जोगबनी भने सधैं गुलजार नै हुने गरेको छ ।

दैनिक उपभोग्य वस्तुको भन्सार शुल्कमा राज्यको नीतिले कस्दा वैधानिक बाटोबाट आयात भएका वस्तुको मूल्य सधैं उच्च छ । जस्तो एककेजी दाल आयात गर्दा भन्सार मूल्यांकन १४४ रुपैँया हुन्छ । त्यसमा १० प्रतिशत भन्सार महशुल त्यसको परल मूल्य १७५ पुग्दछ । व्यापारीले भन्सार शुल्क, ढुवानी भाडा र नाफा समेत गरेर १९० रुपैँया स्थानीय बजारमा मूल्य कायम गर्दछन् । जबकी भारतीय बजार जोगबनी पुग्दा यसको मूल्य १५० रुपैँया मात्रै हुन्छ ।

उपभोक्ताले एककेजी दाल मात्रै जोगबनी पुगेर ल्याउँदैनन् । दाल लिन जाने उपभोक्ता चिनी समेत खरिद गर्दछन् । भारतबाट आयात भएको चिनीको मूल्यांकन ४८ रुपैँया छ । यसमा ४० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिबृद्धि कर लिदाँ परल मूल्य ८४ रुपिँया पुग्दछ । स्थानीय बजारमा यसको मूल्य ८५ रुपैंया प्रतिकेजी रहेको छ । जोगबनीमा ६० रुपैँया प्रतिकेजी चिनी पाइन्छ ।
जोगबनीमा ६० रुपैँया प्रतिकेजी पाइने चामल स्थानीय बजारमा ८५ रुपिँया, प्रतिकेजी ६४० मा पाईने चियापत्ति स्थानीय बजारमा ९५० पर्दछ । यस्तै कफी स्थानीय बजारमा ३ हजार ५०० मा खरिद गर्नुपर्दछ तर जोगबनीमा दुई हजार ६०० मा पाइन्छ । भान्सामा प्रयोग हुने जिरा ८०० रुपिँया प्रतिकेजी किन्ने उपभोक्ताले जोगबनीमा ४५० मा खरिद गर्ने गर्दछ ।

दैनिक उपभोग्य वस्तुको भन्सार दर उच्च राखेर सरकारले राजस्व संकलन गर्ने नीति लिदाँ स्थानीय बजार सुस्त बन्दै गएको व्यापारीहरुको भनाई छ । आगामी वर्षको बजेटमा सरकारले उपभोक्तालाई स्थानीय बजारमा आकर्षित गर्ने नीति ल्याए मात्रै सीमापारबाट हुने अवैध व्यापार घट्ने उनीहरुको भनाई छ ।
खुल्ला सीमानाकाको प्रयोग गरेर नेपाली उपभोक्ता सीमापार भारतीय बजारमा पुग्ने गरेका छन् । मोरङ व्यापार संघका पूर्व अध्यक्ष शंखरलाल अग्रवालले सरकारले भन्सारमा राजस्व लिने नीति लिदाँ दैनिक एकसय करोड रपिँया अवैध रुपमा भारतीय बजार पुग्ने गरेको बताए । उनले अर्थमन्त्री प्रकाशशरण महतलाई बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा सीमा नजिक रहेका ठूला शहरमा सधैं मन्दि आउनुको कारण उपभोक्ताले दैनिक प्रयोग गर्ने वस्तुको भन्सार दर उच्च हुनुको कारण रहेको बताएका हुन् ।

वैधानिक बाटो भएर आउने यस्ता आवश्यकताका सामाग्री भन्सार दरका कारण महंगो हुने गर्दा त्यसको फाइदा भारतीय बजारले लिईरहेकोप्रति सचेत हुन व्यापारीले आग्रह गरेका छन् । कि सीमानाका कडाई गर्नुपर्दछ, कि दैनिक उपभोग्य वस्तुको भन्सार दर घटाउनु जरुरी छ । व्यापारीले आन्तरिक उत्पादनमा जोड नदिदाँ आयातमुखी अर्थतन्त्रमा निर्भर हुनु परेको देशमा दैनिक आवश्यकताका सामाग्रीको भन्सार दर घटाउँदा फाइदा हुने तर्क गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्