विराटनगर । किराँतहरुको महान पर्व उभौलीमा यसवर्ष विराटनगरका सडकमा साकेला सिल्ली नाचेर मनाईने भएको छ । विराटनगर बसोबास गर्दै आएका राई, लिम्बू र याक्खा जातिहरुले पहिचान झल्काउँदै सडकमा मनाउने भएका हुन् ।
सँधैको वर्ष आ–आफ्नो आस्थाका कुल देवतालाई पुजाआरधाना गर्दै साकेला नाचेर च्याब्रुङ नाचेर मनाउने गरिन्थ्यो । यो पटक सडकमा कला प्रदर्शन गरेर मनाउने तयारी गरिएको छ ।
फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै सडक आन्दोलनमा रहेको पहिचान पक्षधरले यो पटक ‘सडकमै जुटौँ, सडकमै नाचौँ’ भन्ने मुल नाराका साथ उभौलि पर्व मनाउने निर्णय गरेका हुन् । सोही अनुसार किरात राई योयोक्खा, किरात याक्थुङ चुम्लुङ र किराँत याक्खा छुम्माले संयुक्तरुपमा परम्परागत कला संस्कृति र पहिरनसहित विराटनगरको महेन्द्रचौक, ट्राफिक चौक हुँदै रोडशेष चौकमा प्रर्दशन गर्ने तयारी रहेको चुम्लुङका नगर अध्यक्ष कुमार सुब्बाले जानकारी दिए ।
उनका अनुसार विहान सात बजे थानमा पुजा गरेर रोडशेष चौकमा साकेला, च्याबु्रङ नाच्ने तयारी रहेको छ । बिहान पूजा गर्ने, दिउँसोमा सडकमा नाच्ने तयारी गरिएको छ । ‘आफ्नो संस्कृति अनुसार श्रोत साधनहरु सांस्कृतिक अभियान स्वरुप प्रर्दशन गर्ने केन्द्रको निर्देशन अनुरुप विराटनगरमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, याक्खा छुम्मा संयुक्त रुपमा साकेला थानमा भेला भएर करिब २ बजेबाट आफ्नो भेषभुषामा मेहन्द्र चौक, ट्राफिक चोक परिक्रमा गरेर रोडशेष चौकमा कला प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
उभौली पर्व वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिने प्रचलन छ । यस चाडमा सुनुवार र राईहरू साकेला÷सखेवा शिली नाच्छन भने लिम्बु र याख्खाहरू च्याब्रुङ, डोकेनी नाच नाच्दै प्रकृतिलाई पुजा गर्ने चलन रहेको छ ।