मोरङमा हुलाकी सडक : ठेकेदारलाई सिडिओ यादवले भने–काम गर्ने की ‘सरेन्डर’

मोरङमा हुलाकी सडक : ठेकेदारलाई सिडिओ यादवले भने–काम गर्ने की ‘सरेन्डर’

विराटनगर । मोरङ जिल्लामा निर्माणाधीन ९६ किलोमिटर हुलाकी राजमार्गको काम नभएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तिव्र असन्तुष्टि पोखेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा सोमबार भएको पाँच स्थानीय तहका जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजना कार्यन्वयन इकाईका प्रतिनिधिबीच छलफल गरिएको छ । यस अगाडी साउनमा यस्तै छलफल आयोजना गरेर ठेकेदार कम्पनीले जनाएको प्रतिवद्धता पूरा नभएपछि स्थानीय प्रशासनले ‘काम गर्ने की छोड्ने’ भन्ने प्रश्न गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले प्रतिवद्धता अनुसार काम नगर्ने ठेकेदार कम्पनीसँग सम्झौता भङ्ग गराउने चेतावनी दिनु भएको छ । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले भत्काएर लथालिङ्ग पारेपछि समयमै काम नगर्दा त्यसको अवसर नागरिकमा परेको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तिव्र दवाव बढाउँदै आएका छन् ।
छलफलमा रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह, रंगेलीका दिलिप बगडिया, सुनवर्षीका राजकुमार राजबंशी, कटहरीका देवराज चौधरीसहितको उपस्थितिमा हुलाकी योजना कार्यालय इटहरीका प्रमुख विजय थापासहितको उपस्थिति रहेको थियो ।
विराटनगर–रंगेली सडक खण्ड भत्काएर हुलाकी राजमार्ग विस्तार सुरु गरिएपनि काम नगरि ठेकेदार हराएपछि अहिले सर्वसाधारणको दवावमा स्थानीय तहका जनप्रतिनिधि, प्रदेशका सांसद र संघका सांसद परेका छन् । संघीय सरकारको योजना भएका कारण स्थानीय प्रशासनमार्फत ठेकेदारलाई तत्काल काममा फर्काउन उनीहरुले पहल लिईरहेका हुन् ।

मोरङमा हाल कुल ९६ किलोमिटर लम्बाईको हुलाकी राजमार्ग निमार्णको चरणमा छ । सात च्यानेजमा ठेक्का लगाएर ४४ किलोमिटरको रतुवा–केशलिया सडक, ३० किलोमिटरको गान्धी मनमोहन मार्ग, २२ किलोमिटरको कानेपोखरी–रङ्गेली सडक र ३.५ किलोमिटरको विराटनगर–केशलिया सडक पर्दछ । जसमध्ये कानेपोखरी–रंगेली २२ किलोमिटर दुरी निर्माण सम्पन्न भएको छ ।
मोरङको रतुवा–केशलिया सडकखण्ड ४४ किलोमिटर दुरीमा रतुवामाईदेखि झुंगीटोलसम्मको १६.५ किलोमिटर सडक खण्डको काम अहिले भईरहेको छ । यसको बाँकी काम यसैवर्ष भित्र सकिने सम्झौतामा उल्लेख छ । यसैगरी झुंगिटोलबाट ७.६ किलोमिटर सडक सम्पन्न भएको छ । बेतौनादेखि विराटनगरसम्मको १८ किलोमिटरमा दुईवटा ठेक्का रहेका छन् । जसको काम एक महिनादेखि रोकिएको हुलाकी सडक योजना कार्यालय इटहरीका प्रमुख थापाले जानकारी दिनुभयो ।

यसैगरी हुलाकी उत्तर–दक्षिण अन्तर्गत गान्धि मनमोहन सडक (पथरी–रंगेली–सीमा क्षेत्र)सम्मको ३० किलोमिटर दुरीका दुई ठेक्काको काम सात महिनादेखि अवरोध रहेको छ । पि.एस÷गजुरमुखी÷मोतिदान जेभीले ठेक्का लिएको सडकमा पछिल्लो तीनवर्षमा काम राम्रो नगरेको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडीयाले आरोप लगाउनुभयो ।
यसैगरी रतुवा–केशलिया सडकखण्डको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको ११.९ किलोमिटर सडकखण्डको अवस्था समेत उस्तै रहेको छ । २०७६ कात्तिक २४ मा सम्झौता भएको सडकको भौतिक प्रगति २५ प्रतिशत मात्रै छ । चालु वर्षमा सक्नुपर्ने सडक ७७ करोडको लागतमा निमार्ण सम्झौता भएको छ ।

यसैगरी झुँगी टोलदेखि बेतौनासम्मको ७.६ किलोमिटर सडकखण्ड भने कालोपत्रे भईसकेको योजना प्रमुख थापाले जानकारी दिनुभयो । कटहरीदेखि विराटनगरसम्मको ६ किलोमिटरमा १५ प्रतिशत, गान्धी मनमोहन मार्ग अन्तर्गत पथरी–डाँसपुल र डाँसपुल–रङ्गेलीसम्मको ३० किलोमिटरको ३० प्रतिशत काम भएको छ । विराटनगरको गणेशचोक–केशलिया खोलासम्मको ३.१९ किलोमिटर सडकको भौतिक प्रगति १० प्रतिशत मात्रै छ ।

पि.एस.गजुरमुखीका सन्तोष गौतमले केहि ढिलाई भएपनि बाँकी काम चाँडै सुरु गर्ने बताउनु भएको थियो ।
तराई–मधेशका २१ जिल्लाहरु जोड्ने बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना आर्थिक वर्ष २०६२÷६३ सालबाट सुरु भएको हो । पूर्व–पश्चिम हुँदै तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित सुरु भएको राजमार्ग विस्तारको कार्य २०७४÷२०७५ मा सम्पन्न हुने अनुमान गरिएको थियो । पूर्वको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने यो सडक निर्माणको काम मोरङमा भने अलमलमा परेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्