प्रदेश राजधानी विराटनगरसँग जोडिएको काकाकुल गाउँ करैया

प्रदेश राजधानी विराटनगरसँग जोडिएको काकाकुल गाउँ करैया

विराटनगर । प्रदेश राजधानी विराटनगरको वडा नम्बर ३ सँग मोरङको बुढीगंगा गाउँपालिका–१ जोडिएको छ । विराटनगरको पुष्पपालचौकबाट नजिकै बुढीगंगा–१ को करैया बस्तीमा भने यतिबेला पानीको हाहाकार मच्चिएको छ । मुखिया, माझी, सरदार, चौधरी र मगरका ४० घर छन् । त्यसपछि ऋषीदेव टोल ४२ घरको छ । करैया वस्तीका स्थानीय अजय मुखियाका अनुसार ८२ घरलाई अहिले पानीको संकट छ । एउटा कलमा पानी आउँछ बाँकी कल सबै सुख्खा छन् ।

भूमिगत जलस्रोतमा निर्भर रहेर बसोबास गर्दै आएका उनीहरुका लागि पछिल्लो तीनवर्ष यता पानीको अभाव सुरु भएको हो । वर्षात्पछि कलमा मात्रै नभएर घरमा पनि पानी जम्छ, गर्मीयाममा बस्तीदेखि कलसम्म पानीविहीन हुने गरेको हो ।

स्थानीयवासी तथा पूर्व वडासदस्य बलबहादुर मगरका अनुसार तीनवर्ष अगाडी आरती स्ट्रिप्स उद्योगले रडको प्लान्ट स्थापना गरेको थियो । त्यसपछि जमिनमुनीबाट पानीको स्रोत उद्योगमा जडान गरेको छ । डिप बोरिङ्गमार्फत फलाम उद्योगमा चिस्यान प्लान्टका लागि पानी तानेपछि वस्तीमा विस्तारै संकट आउन थालेको हो । गर्मीयाम लागेसँगै पानीको हाहाकार मच्चिन थालेको छ ।

कलबाट पानी खान नपाएका उनीहरुको घरमुनी भने मानगढ खानेपानी आयोजनाको पाइप छ । मानगढले त्यहि वस्तीबाट सशस्त्र प्रहरीको ३ नम्बर वाहिनी गणसम्म पानी आपूर्ति गर्दै आएको छ । तर, त्यो वस्तीका स्थानीयलाई पानी दिन आयोजना सहमत देखिएको छैन । खासमा त्यो वस्तीमा बसोबास गर्नेसँग जग्गाको लालपूर्जा नहुँदा घरमुनीको पाइपमा भएको पानीको आवाज सुनेर घोक्रो सुकाई रहेका छन् ।
२०२१ सालदेखि बसोबास गर्दै आउनु भएका मगरका अनुसार ८२ घर बसोबास रहेको करैयावस्ती अर्कैको निजी स्वामित्वको जग्गा हो । तर, चारपुस्तादेखि त्यहिं बसोबास गर्दै आएका उनीहरुका लागि अन्त सर्ने अवस्था छैन । मानगढ खानेपानी आयोजनाले उनीहरुको सिकुवाबाट पानीको पाइप विस्तार गरेको छ तर लालपूर्जा नहुँदा पानी प्रयोग गर्न धारा जडान गरिदिएको छैन ।

करैया बस्तीकै देवी मगरले २२ हजार रुपिँया बुझाएर मानगढको धारा जडान गर्ने प्रक्रिया अगाडी बढाउनु भएको छ । तर, पानी जोड्दा ८२ घर नै निर्भर हुने डरले आयोजनाले धारा दिएको छैन । बुढीगंगा गाउँपालिकाका जनप्रतिनिधिलाई निर्वाचित गराएका उनीहरुलाई चुनावमा डिप बोरिङ्गमार्फत पानीको व्यवस्थापन गर्ने आश्वासन दिइएको थियो । तर, अहिले स्थानीय तहका जनप्रतिनिधिले भने अर्काको स्वामित्वको जग्गामा बसेर पानी पीउन नपाउने भन्दै बस्ती उठ्नुपर्ने सुझाव दिन थालेका छन् ।

दैनिक जसो वडा कार्यालयमा पुगेर पानीका लागि गुहार माग्दै आएका स्थानीय मंगलबार भाँडावर्तनसहित वडा अध्यक्ष सोमराज काफ्लेको कार्यकक्षमा पुगेका थिए । वडा अध्यक्ष काफ्लेले सबै घरधुरीले एउटा सार्वजानिक धारा जडान गर्न सहमत भएर आए मानगढको पानी उपलब्ध गराउन सक्ने आश्वासन दिएको सथनीय बताउँछन् ।

अर्काको निजी स्वामित्वमा घर बनाएर बसेकाहरुको घरमा पानी नजोडिएको वडा अध्यक्ष काफ्ले बताउनुहुन्छ । मानव स्वास्थ्यका लागि अतिआवश्यक पानी नहुँदा कसरी उपलब्ध गराउने विषयमा भन्दा बस्ती उठाउनेमा धेरैको ध्यान रहेको छ । आसपासका जग्गा सबै कित्ताकाट गरेर प्लटिङ्ग भईसकेका छन् । करैया वस्तीका झुपडीमा बस्नेहरु भने पानी पीउन नपाएर छटपठाईरहेको दिनेश ऋषिदेवको गुनासो छ ।

चुनावमा भोट माग्दा प्रतिवद्धता जनाएका जनप्रतिनिधि अहिले बस्ती उठाएर जग्गा प्लटिङ्गको धुनमा रहेको स्थानीयको आरोप छ । स्थानीय धिरेन चौधरीले गर्भवती महिला र बालबालिकालाई पानी अभावले सबैभन्दा बढी पिरोलेको बताउनुभयो । पीउनकै लागि पानी अभाव भएपछि नुहाउने पानी पाउन उनीहरुले अन्य घरमा हारगुहार गर्नुपर्ने अवस्था रहेको छ । टोलभरीमा एउटा कलमा पानी आउने गरेपनि बाँकीमा सुख्खा लाग्दा पीडा भरिएका दिन काट्नुपर्ने अवस्था रहेको चौधरी बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्