जब लत्रिएको तार मेयर कोइरालाले बाँध्न थालेपछी ….

जब लत्रिएको तार मेयर कोइरालाले बाँध्न थालेपछी ….

विराटनगर । विराटनगर महानगरपालिकाको बजेटबाट सञ्चालित योजनाहरुको अनुगमनका क्रममा विराटनगर-६ केशलिया रोड उत्तर पुग्नु भएका मेयर नागेश कोइरालाले जब लत्रिएको तारमा मोटरसाइकल चालक अल्झिएको देख्नु भयो तुरुन्तै उहाँले आफैं डोरी खोजेर लत्रिएको तार बाँध्नुभयो ।

चालु आर्थिक वर्षको बजेटबाट सम्पन्न योजनाहरुको अनुगमनमा मेयर नागेश कोइराला सोमबार बिहान ६ बजे नै निस्कनु भएको थियो । वडा नम्बर १, २, ७ र ९ नम्बर वडाका योजनाहरुको अनुगमनपछि ६ नम्बर वडा पुग्नु भएको थियो ।

अनुगमनका क्रममा जब लत्रिएको तारमा मोटरसाइकल चालक अल्झिएको देख्नु भयो उहाँले तुरुन्तै छेउको घरमा पुगेर डोरी माग्नु भयो र बाँध्न थाल्नुभयो । त्यसपछि उपमेयर शिल्पा निराला कार्की र वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले पनि लत्रिएको तार बाँध्न थाल्नुभयो ।

मेयर कोइरालाले सबै काम महानगरले गर्न नसक्ने भएकाले यस्ता सानातिना काम स्थानीयले गर्नुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले यसरी लत्रिएको तार आफैंले पनि बाँध्न सकिने र सम्भावित दुर्घटनाबाट बच्न सकिने उल्लेख गर्नुभयो । उहाँले विराटनगरवासीमा अझै सचेतना जगाउन नसकिएको बताउनुभयो । आइतबार आएको हावाहुरीका कारण केवल र नेटको तार लत्रिएको स्थानीयको भनाइ थियो ।

तारमा अल्झिँदै हिंड्नुभन्दा स्थानीय आफैंले तत्कालका लागि व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो । महानगरपालिकाले लत्रिएका तारको व्यवस्थापन गर्ने अभियान नै सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्