विराटनगर बसपार्क : टर्मिनलमै बस होल्ड, नयाँ बसपार्कको खोजि छैन

विराटनगर बसपार्क : टर्मिनलमै बस होल्ड, नयाँ बसपार्कको खोजि छैन

विराटनगर । विराटनगर–११ स्थित बस टर्मिनल परिसरमा यात्रुवहाक सवारी होल्ड हुँदा व्यवस्थापनमा समस्या देखिएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्मित बस टर्मिनल सार्वजानिक निजी साझेदारी अवधारणमा सञ्चालित छ ।
टोल विकास संस्था, बस व्यवसायी संघ, मजदुर संघ र संगठनका प्रतिनिधि सम्मिलित १५ सदस्यीय व्यवस्थापन समिति रहेको छ । समितिका अध्यक्ष पदम श्रेष्ठका अनुसार महानगरपालिकासँग २०७५ चैत १ गतेदेखि पाँचवर्षको सम्झौताका आधारमा टर्मिनल व्यवस्थापन गरिदैं आएको छ ।

समितिले मासिक ६ लाख ९४ हजार ७२५ रुपैँयामा ठेक्का लिएको हो । एक बिघाहा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको टर्मिनल क्षेत्रबाट दैनिक ३५० यात्रुवहाक सवारी लामो तथा छोटो दुरीका लागि गन्तव्यतर्फ निस्कने गरेका छन् । व्यवस्थापन समितिले ठूला सवारीसँग ११० र साना सवारीसँग ८० रुपैँया टर्मिनल प्रयोग शुल्क लिने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

टर्मिनल क्षेत्रमा दैनिक ४० वटा बस होल्ड हुँदै आएका छन् । व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठका अनुसार बसपार्क नभएर बस टर्मिनल क्षेत्रमा होल्ड भएका सवारीका कारण व्यवस्थापनमा समस्या भईरहेको छ । जसका लागि प्रदेश राजधानी विराटनगरमा नयाँ बसपार्क व्यवस्थापन गर्नुपर्ने देखिएको छ । बसहरु पार्किङ गरेर राखिने र टर्मिनलबाट छुट्ने स्थितिको निर्माणका लागि समयमै सोच्नुपर्ने अवस्था आईसकेको अध्यक्ष श्रेष्ठले बताएका छन् । बस टर्मिनल क्षेत्रमा बनाइएको बस ट्रयाक सानो हुँदा पनि समस्या भएको दावी छ ।

केहिवर्ष अगाडी बसपार्क निर्माणको चर्चा चलेको थियो । त्यस बखत बुढीगंगा गाउँपालिकामा बसपार्क बनाउने चर्चा चलेपनि व्यवसायीको राय भने फरक छ । बस टर्मिनल क्षेत्र भन्दा उत्तरतर्फ बसपार्क बनाउँदा यात्रुदेखि सवारी चालकसम्मलाई हैरान हुने अध्यक्ष श्रेष्ठ बताउँछन् । अहिले भईरहेको बस टर्मिनल क्षेत्रदेखि दक्षिणवर्ती रानी इलाकामा बसपार्क व्यवस्थापन गर्न आवश्यक रहेको श्रेष्ठको भनाई छ ।
विराटनगरमा सुविधासम्पन्न टर्मिनल क्षेत्रमा १४ वटा सिसी क्यामरा जडान गरिएको छ । टर्मिनल भवनबाट व्यवस्थापन समितिले सवारीहरुको निगरानी गर्दै आएका छन् । टर्मिनल भवनमा ७ वटा टिकट काउन्टरसहित एउटा सटर भाडामा लगाइएको छ । माथिल्लो तलामा एउटा होटल र व्यवस्थापन समितिको अफिस रहेको छ ।

बसपार्क क्षेत्रमा अहिले नयाँ गार्ड टावर निर्माणको काम भईरहेको छ । कुल लागत १६ लाखमा फलामको संरचना निर्माण अन्तिम चरणमा पुगेको हो । जसमा महानगरपालिकाको ६० प्रतिशत र व्यवस्थापन समितिको ४० प्रतिशत लगानी रहनेछ । ३३ फिट अग्लो गार्ड टावरमा बिश्वकर्माको मन्दिर समेत राखिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्