विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ की उमा कार्कीलाई विवाह गरेर इटाली पुगेपछि उनका भिनाजुले अनावश्यक टर्चर दिएको भन्दै प्रहरीमा कारवाहीको माग गरेकी छिन् ।
उमाका भिनाजु इटहरी–१२ बस्दै आएका राजेशकुमार बानियाँले चेकमा नक्कली हस्ताक्षर गरेर दुरुपयोग गरेको र नक्कली फेसबुक आईडी बनाएर बद्नाम गराएको आरोप छ ।
कार्कीको बेलबारीका २ का युवकसँग विवाह २०७० साल फागुन २ गते भएको थियो । उनीहरुको विवाह दर्ता भने २०७९ मंसिर १२ गते विवाह भएको थियो । श्रीमान् इटालीबाट फर्केपछि विवाह दर्ता गरेर उनी श्रीमान्सहित इटाली गएकी छिन् । इटाली पुगेको दुई महिनापछिदेखि भिनाजु बानियाँले बारम्बार टर्चर दिने गरेको भन्दै कार्कीले प्रहरीमा उजुरी दिएकी हुन् ।
कार्की बानियाँको घरमा बसेर हुर्की बढेकी थिइन् । त्यहिं बसेर दिदीका सन्तान हुर्काउन सहयोग गरेकी उनी बिमा कम्पनीमा जागिरे थिइन् । उनका चेक लगायतका कागजात र एटिएममा भिनाजुको नियन्त्रणमा रहेका थिए । त्यहि बेला उनको इटालीमा बस्दै आएका बेलबारीका युवकसँग विवाह भएपछि श्रीमान्सँगै गएको बताउँछिन् । बिमा कम्पनीमा जागिर खाएर कमाएको पैसा समेत भिनाजु बानियाँलाई बुझाउने गरेको उनी गुनासो गर्दछिन् ।
बानियाँका ससुराली र उमाका माईती पक्ष कमजोर रहेका कारण त्यसको फाइदा उठाउने गरेको आरोप छ । उमालाई बानियाँले हिंसाजन्य शब्द प्रयोग गरेर म्यासेज पठाउने गरेका छन् । बानियाँले पठाएका म्यासेजमा जसरी पनि डुबाएर छोड्ने उल्लेख गरिएका छन् ।
उनी इटाली गएपछि अहिले बानियाँले दुईवटा चेक बैंकबाट बाउन्स गराएको आरोप छ । बानियाँले उमाको नाममा रहेको एनसीसी बैंकको ७ लाख ७५ हजार र मुक्तिनाथ बैंकमा रहेको ६ लाख २५ हजार रुपैँयाको चेक बाउन्स गराएका छन् । दुवै चेकमा उमाले गरेको हस्ताक्षर भने अलग–अलग रहेका छन् । राजेशकुमार बानियाँको नाममा कटेको चेकमा अक्षर समेत फरक–फरक रहेका छन् । बैंकको चेकमा मिति उल्लेख गर्ने स्थानमा अग्रेंजी मिति उल्लेख गरिएको छ । व्यक्तिगत नाममा कटेका एसीपे चेक सन् ०५–२०२२–२३ (एनसीसी) र सन् १३–०२–२०२३ (मुक्तिनाथ बैंक) मिति उल्लेख छ ।
इटालीबाट ओबीको सम्पर्कमा आएकी उमाले आफ्ना बैंकका चेक तथा कागजात नियन्त्रणमा लिएका बानियाँले हस्ताक्षर दुरुपयोग गरेर चेक बाउन्स गराएको आरोप लगाएकी छिन् । ‘पहिले त्यहिं बस्दादेखि बारम्बार टर्चर भोग्नु परेको थियो, अहिले विवाह गरेर आएपछि पनि मलाई बसिखान दिएका छैनन्’ उमाले भनिन्–मेरा कागजात नियन्त्रणमा लिएर अहिले माइती र विवाह गरेको घरमा धम्की दिईरहेका छन् ।
उनले उमालाई धम्की दिदैं म्यासेज पठाउने गरेका छन् । केहि नलागेर फेसबुक र म्यासेन्जरमा ब्लक गर्दा नक्कली फेसबुक आईडी बनाएर तथानाम लेख्ने गरेको भन्दै प्रहरीमा छानविनका लागि उजुरी दिइएको छ ।
कार्कीको तर्फबाट उनका ससुरा र श्रीमानले नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो, इलाका प्रहरी कार्यालय बेलबारीमा बानियाँलाई झिकाएर कारवाही तथा अनुसन्धान गरिदिन माग गरेका छन् । यसैगरी उमाको नाममा भएका बैंक खाताहरु दुरुपयोग भईरहेको भन्दै बन्द गरिदिन निवेदन दिइएको छ । निवदेन अनुसार उनको बैंक एकाउन्ट बन्द भएको छ । तर, बैंकमा चेक अनादरको मुद्दा भने कायमै रहने कार्कीले बताइन् । उनले बानियाँ अधिक मदिरा सेवन गर्ने र पैसा सिध्याएर पहिलादेखि नै आफूलाई टर्चर दिने गरेको बताइन् ।
यता बानियाँले भने आफैंले हिर्काएर, पढाएर, जागिर लगाई दिएर, विदेश जानेसम्म पैसाको जोहो गरिदिएको दावी गरेका छन् । उनले आफूलाई पैसा दिनुपर्ने भएपनि इटाली पुगेपछि सम्पर्कविहीन भएको दावी गरेका छन् । बानियाँले उनीहरु नक्कली कागजात बनाएर इटाली पुगेकोले चेक बाउन्सदेखि नक्कली कागजातसम्म अनुसन्धान गराउन आफु लागेको बताएका छन् । उनी राप्रपाका नेता हुन् ।