विराटनगर । विराटनगर–११ नयाँ गुद्री नजिक भाडामा होटल सञ्चालन गरेका एक व्यक्ति आगो लगाएर फरार भएका छन् ।
बेनुकुमार कार्कीको भुँई तला भाडामा लिएर होटल सञ्चालन गर्दै आएका नेत्रप्रसाद निरौलाले बिहान २ः३० बजे आगो लगाएर फरार भएका हुन् ।
पसलमा आगो लगाएका उनले घरधनीको गेटमा समेत ताला लगाएर फरार भएपछि नियत देखिएको छ । घरधनी कार्कीको घरमा तीनवर्ष अगाडीदेखि निरौला दम्पती त्यहाँ होटल गर्दै आएका थिए । पछिल्लो तीन महिनायता भाडा दिएका थिएनन् । तीन दिन अगाडी कार्कीले भाडा मागेका थिए । अचानक बिहान होटलको आधा सटर खुल्ला रहेको अवस्थामा आगलागी भएका थियो ।
पसलमा आगलागी हुँदा उनीहरु त्यहाँ थिएनन् । उनीहरु सुत्ने कोठामा ताला लगाइएको थियो । घरधनीलाई थाहा भएपछि निस्कन खोज्दा मुलगेटमा समेत ताला लगाइएको थियो । त्यसपछि छिमेकीले फुटाएर घरधनी र अन्य भाडामा बस्नेहरुको उद्धार गरिएको थियो ।
निरौला दम्पती मात्रै थिए । झापा गौरादहका उनीहरु अहिले सम्पर्कविहीन रहेका छन् । उनीहरुको फेसबुक पेज समेत डिएक्टिभ गरिएको छ । होटल सञ्चालन गर्दा माछा र मासु पसलबाट लिएको उधारो समेत नबुझाएको खुलेको छ ।
‘हामी सुतिरहेका थियौं, आगो लागेको थाहा पाएपछि हतार–हतार उठ्यौं’ घरधनी कार्की परिवारले भने–बुझाउन बाँकी भाडा थियो, सबैलाई आगो लगाएर मार्ने नियत देखियो । झण्डै ८–१० जनाको ज्यान लिने नियत देखिएको भन्दै स्थानीयले तत्काल नियन्त्रणमा लिएर कारवाहीको माग गरेका छन् । होटलका सामान जलेका छन् ।
सामान समेत छोडेर उनीहरु भागेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।