‘प्रदेश र स्थानीय तह सरकारको समन्वय अभावका कारण मानव बेचबिखन रोक्न सकस’

‘प्रदेश र स्थानीय तह सरकारको समन्वय अभावका कारण मानव बेचबिखन रोक्न सकस’

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रदेश र स्थानीय तह सरकारको समन्वय अभावका कारण मानव बेचबिखनलाई रोक्न सकस भएको बताएका छन् ।

विराटनगरमा आइतबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रदेशस्तरीय अभियान तथा मानव बेचबिखन राष्ट्रिय निति र कार्ययोजनाको मस्यौदा उपर छलफल तथा परामर्श गोष्ठी कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले यस्तो बताएका हुन् ।

मानव बेचबिखन रोक्न तीन तह सरकार बीचको समन्वय आवश्यक रहेको बताउदै उनले मानव बेचबिखन रोक्न पहिले आफुबाट नै सुरुवात गर्नुपर्नेमा जोड दिए । खुल्ला बोडर हुनुले पनि यस्तो समस्या देखिएको बताउदै उनले सामाजिक संजालको सहि सदुपयोग नहुनु र यसमा कडाई गर्न सकिए केही हदसम्म रोकन सकिने उनको भनाई थियो ।

‘महिला र बालबालिकाको कुरा उठाई रहदा जेष्ठ नागरिक छुटने गरेको र उहाँहरुको बारेमा आवाज उठाउने निकाय समेत आवाज न उठाई दिदा जेष्ठ नागरिकको समस्या समाधान हुन सकेको छैन,’ उनले भने,‘उहाँहरुलाई पनि संगै समेटनु जरुरी छ ।’

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले खुल्ला सिमा चुनौती रहेको बताउदै पिडितले समस्या खुलेर नभन्दा पनि कानुनी कार्यसम्पादनमा समस्या परेको बताए ।

जनचेतनाको समेत आवश्यकता रहेको उल्लेख गर्दै उनले भने,‘खुल्ला सिमा मुख्य चुनौती हो , यसमा पनि भारतीय सिमा नाकामा आएका महिला,
किशोरीहरुले आफ्नो समस्या नबताइदिदा पनि थप चुनौती देखिएको छ ।’ सुरक्षा निकाय मात्रै पनि यसको जिम्मेवारी नसम्झि आ–आफ्नो स्थानबाट न्याय सम्पादनको कार्यमा सबै सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

यस्तै, कोशी प्रदेशका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले प्रदेशको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा सामाजिक बिकास मन्त्रालयका नीति तथा कार्यक्रम र प्रयासहरु प्रस्तुत गर्दै मानव बेचविखनलाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वयको आवश्यकता खड्किएको बताइन् ।

मानव बेचबिखन विशेष गरि महिला तथा बालबालिकाहरुको बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय नीति तथा राष्ट्रिय कार्ययोजनाको मस्यौदा प्रस्तुत गर्दै रत्नकाजी बज्राचार्यले मानव बेचबिखनको तथ्यांक अनुमानको आधारमा बनाउने गरेको बताए ।

मानव बेचबिखनको विषयमा वास्तविक तथ्यांक हालसम्म दिन नसकेको बताउदै उनले मानव बेचबिखनको समस्या अहिले नयाँ आयमबाट बढेको बताए ।
उनले भने,‘ब्यवस्था बदलिए पनि नियत नबदलिएको कारण मानव बेचबिखनको समस्या झन पेचिलो बन्दै गएको छ ।’ कार्यक्रमका नेपाल प्रहरी, एबिसि नेपाल, ओरेक नेपाल, नगरपालिका, गाँउपालिकाकाप्रमुख एवम् उप-प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्