सुरक्षा स्थितिलाई मध्यनजर गर्दै विराटनगरको केही स्थानमा अनिश्चितकालका लागि निषेधाज्ञा

सुरक्षा स्थितिलाई मध्यनजर गर्दै विराटनगरको केही स्थानमा अनिश्चितकालका लागि निषेधाज्ञा

विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्।

यसले शान्ति सुरक्षामा असर पर्ने भएकाले निश्चित क्षेत्रमा सभा, जुलस, धर्ना, भेलालगायतको कार्यक्रम गर्न निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यदावले बताए । जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलूस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ।’

निषेधित क्षेत्र तोकिएका स्थानमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म छन् ।

आदेशको उल्लंघन गरिए कारबाही हुनेतर्फ पनि प्रशासनले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्