विराटनगर–१८ मा राष्ट्रिय परिचयपत्र विवरण संकलनमा खटिएका कर्मचारीसँग हैरान छन् सेवाग्राही

विराटनगर–१८ मा राष्ट्रिय परिचयपत्र विवरण संकलनमा खटिएका कर्मचारीसँग हैरान छन् सेवाग्राही

विराटनगर । विराटनगर महानगरपालिका–१८ मा राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि खटाइएका कर्मचारी नजाँदा सेवाग्राहीले हैरान बेहोर्नु परेको छ । बैशाख २६ गतेदेखि सुरु भएको विवरण संकलनको काम कहिले हुने भन्ने यकिन नहुँदा सेवाग्राही बारम्बार फर्कनु परेको गुनासो छ ।

वडा अध्यक्ष जीतेन्द्र कुमार साहले जिल्ला प्रशासन कार्यालयबाट खटाइएका कर्मचारी एक दिन आउने अनि दुई दिन विदामा बस्ने गरेको गुनासो गरेका छन् । सेवाग्राहीलाई बिना जानकारी कर्मचारी अनुपस्थित हुँदा त्यसको बोझ आफ्नो टाउकोमा आईपरेको वडाअध्यक्ष साहको गुनासो छ । यो वडामा तीन हजार ७७१ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्नुपर्नेछ । ४५ दिनसम्म यो कार्य जारी रहने छ । हालसम्म एक हजार आसपासको विवरण संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सुनिल मरिक र गौरव कानुलाई विराटनगर–१८ मा खटाएको छ । वडा अध्यक्ष साहले उनीहरुको सबै प्रवन्ध वडा कार्यालय मिलाई दिएको जानकारी दिएका छन् । खान, बस्न, खाजा चियासम्मको व्यवस्थापन मिलाई दिएपनि धमाधम काम नहुँदा सेवाग्राही आजित भईसकेको अध्यक्षको गुनासो छ । कोशी अस्पतालमा विदा मिलाएर राष्ट्रिय परिचयपत्र बनाउन तीनदिनदेखि धाउनु भएकी एक कर्मचारीका अनुसार विवरण संकलक नआउँदा दुःख पाएको गुनासो गर्छिन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले यस विषयमा खटिएका कर्मचारीहरु किन नगएको भन्ने विषयमा ध्यानाकर्षण भएको बताएका छन् । राष्ट्रिय परिचयपत्रको विषय सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले हेर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्