विराटनगरमा बिहीबारदेखि कार्गोरेल सञ्चालन हुने, दुई देशका प्रधानमन्त्रीले झण्डा उठाएर उद्घाटन गर्ने

विराटनगरमा बिहीबारदेखि कार्गोरेल सञ्चालन हुने, दुई देशका प्रधानमन्त्रीले झण्डा उठाएर उद्घाटन गर्ने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा रहेकै बेला व्यापारिक मालसामान लिएर मालवाहक रेल विराटनगरको एकीकृत जाँचविन्दु (आइसीपी) बिहीबार आईपुग्ने भएको छ । भारतीय विदेश मन्त्रालयले प्रकाशित गरेको कार्यक्रमअनुसार प्रधानमन्त्री दाहाल बुधबार भारतको नयाँ दिल्ली पुगेपछि दुवै देशका प्रधानमन्त्रीले बिहीबार रेल सञ्चालन सुरु भएको झन्डा देखाउनेछन्।

नयाँ दिल्लीमा दुवै प्रधानमन्त्रीले झन्डा देखाएर कार्गो रेलको उद्‍घाटन गरेपछि विराटनगरको आईसीपी क्षेत्रमा मालवस्तु बोकेको रेल आउने छ । उद्घाटन कार्यक्रम विराटनगरको सीमावर्ती भारतीय रेलवे स्टेसन बथनाहामा राखिएको अनलाइन डिस्प्लेमा देखाईने भएको छ ।
बथनाहामा उक्त मालवाहक रेललाई भारतीय रेलवे र भारतीय भन्सारका अधिकारीले बिदाइ गर्नेछन्। बथनाहाबाट मालवाहक रेल छुटेको १५ मिनेटमै विराटनगरको आइसीपीस्थित रेलयार्डसम्म मालवाहक रेल आईपुग्ने बताइएको छ । बथनाहादेखि आइसीपीसम्मको दूरी ७.६ किलोमिटर छ।

आइसीपीमा मालवाहक रेलको स्वागत स्थानीय उद्योग वाणिज्य संघ, नेपाल रेल विभाग, भन्सार कार्यालय लगायतका निकायले गर्ने तयारी छ। रेलले फलामे उद्योगका कच्चा सामग्री ल्याउने छ । सुनसरी मोरङ औद्योगिक करिडोर अन्तर्गतका आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल गरी ४ फलामे उद्योगका कच्चा सामग्री ल्याउनेछ।
भारतीय अधिकारीले विराटनगरको आइसीपीस्थित रेलवे यार्डमा कन्टेनर र कार्गो ह्यान्डलिङ गर्न केही इक्विपमेन्ट चाहिएमा भारतीय पक्षले ३ महिनाका लागि उपलब्ध गराउने आश्वासन दिएका छन्। त्यसपछि भने आइसीपीको सञ्चालनका लागि ठेक्का पाएको ट्रान्स नेपाल फ्रेट सर्भिसेजले सबै इक्विमेन्टको व्यवस्था गर्नुपर्नेछ।

भारतीय रेलवे अधिकारीका अनुसार अब जेठ १८ देखि विराटनगर नाका हुँदै ल्याइने रेलकार्गो आइसीपीबाटै आउने छ। हालसम्म व्यवसायीले फलाम उद्योगका कच्चा पदार्थ, मल, नुन लगायतका सामानहरू जोगबनी रेलवे स्टेसनको यार्डसम्म ल्याएर भन्सार जाँचपास गरिरहेका छन्। अब जोगबनी स्टेसनको यार्डलाई कार्गोयार्डका रूपमा सञ्चालन गरिनेछैन। सबै सामान आइसीपीमार्फत् नै ल्याउनु पर्नेछ। भारतीय रेलवेले जोगबनीको यार्डमा रेलवेको सर्भिसिङ सेन्टर बनाउने भएको छ। त्यहाँ रेलका यात्रुवाहक डब्बाहरूको मर्मत, सफाइ आदि गरिनेछ।
ट्रान्स नेपाल फ्रेट सर्भिसेजका प्रमुख लक्ष्मी सुब्बाले ट्रान्स नेपालसित रेलकार्गो ह्यान्डलिङका लागि सबै इक्विपमेन्ट मौजुद राखेको जानकारी दिएका छन् । उनले रेलको र्‍याकबाट कन्टेनर निकालेर राख्‍ने क्रेन, हाड्रा लगायतका सबै हेभी इक्विपमेन्ट र तिनका प्राविधिक पनि तयार भएको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्