विराट राजाको दरबार क्षेत्रमा बन्दैछ किचकबध पोखरी

विराट राजाको दरबार क्षेत्रमा बन्दैछ किचकबध पोखरी

विराटनगर । विराट राजाको दरबार क्षेत्रमा किचकबध पोखरी निर्माण भईरहेको छ । बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पोखरी निर्माणको अवस्थाका विषयमा स्थलगत निरीक्षण गरेका छन् ।

ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिएका कोइरालाले कामलाई तिव्रता दिन निर्देशन दिएका छन् । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । तर, निर्माण कम्पनी देवी छिन्नमस्ता कन्ट्रक्सनले ७० लाख ६५ हजार ६२५ रुपैयाँमा ठेक्का कबोल गरेको छ । अनुगमनका क्रममा मेयर कोइरालाले तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ठूला योजनाहरु सञ्चालन गरिरहेको दावी कोइरालाको छ । दक्षिणी क्षेत्रमा विराट राजाको दरबारसँगै रानीपोखरी र मन्ठापोखरीको पुननिर्माणसँगै सौन्दर्यकरणसमेत भइरहेको छ ।
धार्मिक र सांस्कृतिक महत्व बोकेको विराट राजाको दरबारसहित तीनवटै पोखरीको निर्माण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा छ । १६ करोड जनसंख्या भएको बिहारसँग जोडिएको क्षेत्र भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको मेयर कोइरालाको भनाइ थियो ।

महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेकोमा स्थानीयसमेत खुसी देखिएका छन् । स्थानीय नित्यान्द यादवले महानगरको हालको नेतृत्वले अत्यन्तै राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।
निर्माण कम्पनीका रञ्जित झाले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरी रातदिन नभनिकन काम गरिरहेको दाबी गरेका छन् । गुणस्तरसँगै कामसमेत अन्तर्राष्ट्रियस्तरमा भइरहेको दावी छ । निर्माणाधीन पोखरीको पर्खाल लगाउने काम सम्पन्न भइसकेको छ । पोखरी वरिपरि प्याराफिट, आकर्षक बगैंचा, फूलबारी, विश्रामस्थल, कटेज, कलात्मक प्रवेशद्वारलगायत निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्