जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) को १८ हजार उजुरी परेको छ। मधेसमा २९ दिनको अवधिमा (वैशाख १७ देखि जेठ १४ गतेसम्म) मिटरब्याजीविरुद्ध १८ हजार ८५ उजुरी परेको हो। मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजी विरुद्धका यति धेरै संख्यामा उजुरी परेको हो।
प्रदेशको सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूमा दैनिक सयौंको संख्यामा उपस्थित भएर मिटरब्याज पीडितहरूले हजारौँ उजुरी दिएका हुन्। उजुरीका लागि सुरुमा वैशाख १७ गतेदेखि ३१ गते सम्मको समय तोकिएको थियो। त्यस अवधिमा उजुरीहरू पर्ने क्रम जारी रहेकोले ७ दिन म्याद थप गरी जेठ ७ गतेसम्मका लागि बढाइयो। तर, जेठ ७ गतेसम्म पनि उजुरीको चाङ देखिएपछि पुनः जेठ १४ गतेसम्मका लागि समय थपिएको थियो।
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न उजुरी माग गरेको २९ दिनसम्म संख्यामा उजुरीहरू प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अवधिमा मिटरब्याजीविरुद्ध सबैभन्दा बढी बारा जिल्लामा ३ हजार ३२२ उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।