विराटनगरमा अध्याधिक गर्मी : जनजीवन प्रभावित बन्दै, चर्को घामबाट कसरी जोगिने

विराटनगरमा अध्याधिक गर्मी : जनजीवन प्रभावित बन्दै, चर्को घामबाट कसरी जोगिने

प्रेम देवान
विराटनगर । विराटनगरको अध्याधिक गर्मीका कारण जनजीवन प्रभावित बन्दै जान थालेको छ । केही दिनयता लगातार बढ्दै गएको तापक्रमले गर्दा सहनै नसक्ने गर्मीले बाहिर निस्कन नसक्ने स्थिति सिर्जना भएको हो ।
यसले विराटनगर सहित तराईका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बन्दै जान थालेको छ । आकाशको सुर्य नै भुईमा झर्ला झैँ भएको तातो तापक्रमले गर्दा विराटनगरवासी यति बेला गर्मीले छल्न कता जाने सोच्न थालेका छन् । सामान्यतयः दैनिकी मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुलाई त झनै समस्या हुन थालेको छ । दिनभरी काममा खट्दा तातो घामले शरिर थेग्नै नसक्ने स्थिति भएको लामो समयदेखी ठेला रिक्सा चलाउँदै आएका विराटनगर १२ का हरिशरण सहनीले बताए ।

विहानैदेखी टन्टलापुर घाम लाग्न । अधिकतम तापक्रम दिनहुँ जस्तो ४० डिग्री सेल्सियस भन्दा बढी हुने गर्दछ । शनिबार पनि विराटनगरको अधिकतम तापक्रम ३९ दशमलब २ डिग्री थियो भने आईतबार ४० डिग्री सेल्सियससम्म पुगेको छ ।
मौसम पूर्वानुमान शाखाका अनुसार अझै केही दिन विराटनगरको तापक्रम ४० डिग्री हाराहारीमै रहने समेत जनाएको छ । अहिले चलिरहेको जस्तै तातो हावा पनि कायमै रहनेछ विराटनगर मौसम पुर्वानुमान कार्यालय अन्तर्गतको इकाई प्रमुख विकास देउजाले जानकारी दिए ।

लु चल्न सक्ने सर्तक रहन आग्रह

विराटनगरको अधिक जनघनत्वयुक्त सहरमा चर्को घाम र तातो हावाको ओहोरदोहोरले जनजीवन प्रभावित भएका बेला जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
देशका तराई भू-भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।
तातो दिन तथा लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । ‘आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू-भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने देखिन्छ । तसर्थः तराईका भू-भागमा तातो हावा र लूबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

डाक्टरको सुझाव :
कोशी अस्पताल आकस्मिक विभागका चिकित्सक डा राकेश यादवले गर्मीका कारण बिरामीको चाप बढेको बताउनुभयो । दैनिक एक सयदेखि दुई सयको हाराहारीमा झाडावान्ता, भाइरल ज्वरो, नाकबाट रगत बग्ने, एलर्जी लगायतका रोगका बिरामी आउने गरेको बताउनुभयो । डा.यादवले गर्मीका बेला सकेसम्म घरबाट बाहिर ननिस्कन सुझाव दिनुभयो ।

यता विराटनगर अस्पतालका स्कीन केयर डां दिलिप चौधरीका अनुसार तातो हावा तथा लूबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विशेष ध्यान दिनुपर्छ । तातो हावासहितको अधिक गर्मीबाट जोगिन गर्मीको समयमा विभिन्न तरिका अपनाएर सावधानी अपनाउन सकिने डा. चौधरीको भनाई छ ।
डा. चौधरीका अनुसार अधिक गर्मीका बेला पिसाब कम हुने समस्या पनि आउने हुन्छ । झोलिलो पदार्थ कम भएर शरीरमा पानीको मात्रा कम हुँदा त्यसको असर मिर्गौलामा पर्ने जोखिम उच्च हुने भन्दै उहाँले गर्मीमा पानी प्रशस्त पिउनुपर्ने सुझाव समेत दिनुभयो ।

गर्मी कै कारण विराटनगरका विद्यालय थप केहीदिनका लागि विदा :

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा अत्यधिक गर्मी बढेकोले थप ३ दिन बिदा थप गर्ने निणर्य गरेको छ ।
केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले जेष्ठ १८ र १९ गते विदा दिने निणर्य गरेको थियो । बिदा थप गर्दै महानगरले जेष्ठ २१ गतेबाट २३ गतेसम्म बिदा गर्ने निणर्य गरेको छ ।

नगर शिक्षा समितिको निणर्यअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे विदाबाट कट्टा हुनेगरी थप ३ दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

चर्को घामबाट छालालाई कसरी जोगाउन व्यूटिसियनको सुझाव :
गर्मीमा छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालाको प्राकृतिक सुन्दरता मार्छ र छालालाई फुस्रो बनाउँनुका साथै अनुहारमा चाया पोतो, डण्डिफोर लगायतका समस्याहरु देखा पर्ने गर्दछ । त्यसकारण यो मौसममा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी रहेको व्यूटिसियनहरुको सुझाव छ ।
गर्मीयाममा छाला अनुसारको ज्यादा ख्याल राख्नुपर्ने पर्ने विराटनगरकी व्यूटिसियन भलि सुब्बाको भनाई छ । धुलो धुँवा र चर्को घामले गर्दा छाला डढेर विभिन्न समस्या देखापर्दछ । घामको किरणले छालाबाट जोगिन के के कुरामा ध्यान दिन सकिन्छ भन्ने विषयमा मिनाज व्युटिज् पार्लर केयर विराटनगरकी संचालिका भलि सुब्बाले दिएको सुझाव यस प्रकार रहेको छ :
छालाको हेरचाह गर्ने उपायहरु
- धेरै मात्रामा पानी र झोलिलो पदार्थ पिउने
- मौसम अनुसारका ताजा फलफुलहरु खाने
- प्रसस्त मात्रामा हरियो सागसब्जी खाने
- घाममा निस्कनुभन्दा आधा घन्टा अगाडि सनस्क्रिन लगाउने,
- दिनभर घाममा निस्कदा तीन- तीन घन्टाको अन्तरमा सनस्क्रिन लगाउने
- घर बाट बाहिर निस्कदा छाता वा क्यापको प्रयोग गर्ने
- कम्तिमा ५० एसपीएफ युक्त सनस्क्रिन प्रयोग गर्ने
- स्किन टोनर वा गुलावजलको रातको समयमा प्रयोग गर्ने, जसले गर्दा छालालाई शीतलता प्रदान गर्छ,
- दिनमा दुई पटक किलिन्जिङ गर्ने
- बेलुका सुत्नु अगाडि अनुहारलाई राम्रोसँग धोएर नाइट क्रिम लगाएर सुत्ने
- महिनामा दुई पटक फेसियल गर्ने
- आफ्नो छालालाई उपयुक्त हुने फेस प्याक र फेस वासहरु प्रयोग गर्ने

मानिसको फुस्रो छाला, निकै चिल्लो छाला र सामान्य छाला हुन्छन् । गुण, अवस्था र प्रकार अनुसार छालाको स्याहार गर्नुपर्ने ब्युटिसियन बताउँछन् । गर्मियाममा सबैभन्दा राम्रो जति सक्दो शुद्ध पानी पिउनु शरिरका लागी उपयुक्त मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्