विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सोमबार लागि बोलाइएको छ ।
कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक विराटनरमा बस्न लागेको हो ।
केही निर्णय गर्नु पर्ने भएर बैठक बोलाइएको माओवादी निकट स्रोतले जानकारी दिएको छ । यसअघि जसपाका स्वास्थ्यमन्त्री निर्मला लिम्बुले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा माओवादी केन्द्र ले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिएनन् ।
एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीको समर्थनमा २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद् छन् ।
कार्की नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले सरकार परिवर्तन गर्दा चार वर्ष मुख्यमन्त्री पाउनुपर्ने शर्त कांग्रेस र माओवादीसँग राखेको छ ।
प्रदेशसभामा ६ सिट रहेको राप्रपा सामेल भए कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीसहितको गठबन्धनले सहज रूपमा सरकार गठन गर्न सक्छ ।
फोटो:फाइल