विराटनगर । डिडिसी कम्पनीले उत्पादन गरेको पनिरमा एक बर्ष अगाडीको मितिमा प्याकेजिङ्ग गरिएको भेटिएको छ ।
उत्पादन भएको मितिले ३ महिनासम्म मात्र प्रयोग गर्न पाईन्छ । तर विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको पनिरको प्याकेजमा भने एक बर्ष अगाडीको मितिमा बनेको पनिर बजारमा भेटिएको हो ।
विराटनगर ४ का युवराज बरालले शुक्रबार विहान महेन्द्र चौकमा रहेको पवित्र डेरी उद्योगबाट २ केजी पनिर खरिद गरेका थिए । १८ सयमा खरिद गरेर घर लगेका बरालले खोलेर काट्दा पनिर ढुटिएको भेटेका थिए । पछि पनिरको खोलमा हेर्दा २०७९ साल जेठ ३ गतेको मिति लेखेको भेटियो ।
बरालले आफ्नी ठुलीआमाको १३ औँ दिनको कामको लागि लगेको पनिर मिति गुज्रेको भेटेपछि आक्रोसित बनेका थिए । बरालले तत्काल खरिद गरेर लगेको पसलमा आई डिडिसीको चरम लापरबाही भएको बारे पसल संंचालकलाई खबरदारी गरेका थिए । उनले भन्दै थिए आज मेरो घरमा यो पनिर खाएर कोही विरामी परेको भए यसको जिम्मा कसले लिने ? कमसेकम पसलले त मिति हेरेर दिनुपर्ने हो नी बरालले पसल साउजीसँग गुनासो गरिरहेका थिए ।
यता पसल संचालिका पवित्रा कुमारी बास्तोलाले आफुहरुको कुनै पनि दोस नरहेको बताईन् । आजै विहान ल्याएको हो । हामीले जस्तो आयो त्यस्तै विक्री गरेको हो बास्तोलाले आफ्नो कुरा राखिन् । एक बर्ष अगाडीको मिति राखिएको पनिर बिक्री भएको बारे तत्काल खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरको टोलीले पसलमा भएको अरु पनिर नियन्त्रणमा लिईएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक शंकर न्यौपानेको टोलीले पसलमा रहेका अरु पनिर नियन्त्रणमा लिई थप आवश्यक कारबाहीको लागी लगेको छ । पनिर ल्यावमा लगेर आवश्यक चेकजाँच र ल्याव टेष्ट गर्छौ यदि कैफियत भेटिए कारबाही अगाडी बढ्ने खाद्य निरीक्षक न्यौपानेले आवर विराटनगरलाई जानकारी दिए ।
यता विराटनगर दुग्ध वितरण आयोजना विराटनगरका एक्स्टेसन अफिसर नवराज अधिकारीले मिती उल्लेखमा त्रुटी भएको स्वीकार गरेका छन् । दुग्ध वितरण केन्द्रमा फरक फरक विभाग भएका कारण गुण नियन्त्रण विभागबाट कर्मचारीको भुलचुकले पुरानो मिती टाँस भएकाले यस्तो समस्या आएको हो अधिकारीले भने, हामीले फागुन महिनाबाट मात्रै पनिर उत्पादन गरेको हौं।’ आम उपभोक्तालाई हानी गर्ने उदेश्यले भने नगरेको उनले स्पष्ट पारे । हाम्रो तर्फबाट मिति उल्लेख गर्दा सानो त्रुटि भएको हो यसमा हामी क्षमापार्थी छौँ ! आगामी दिनमा यस्तो समस्या आउन दिनेछैनौँ ।