प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा मेयर कोइरालाको जोड

प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा मेयर कोइरालाको जोड

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भएको छ ।

विराटनगर-१७ स्थित मदरसा अशरफिया इजरुल उलूम आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सैद्धान्तिकभन्दा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको हो ।

सीपमूलक शिक्षा प्राप्त गरेको विद्यार्थीले अध्ययन पूरा गरिसकेपछि सहज रुपमा रोजगारी पाउने उहाँको भनाइ थियो । “अझै पनि नेपालको शिक्षा सैद्धान्तिकभन्दा माथि उठ्न सकेको छैन,” उहाँले भन्नुभयो, “एउटा हातमा डिग्रीको सर्टिफिकेट र अर्को हातमा सीपको सर्टिफिकेट भएमा विश्वको जुनसुकै मुलुकमा गए पनि रोजगारी पाउने अवस्था छ । तर हामी कहाँ डिग्रीको सर्टिफिकेट मात्रै छ भोकेस्नल ट्रेनिङको सर्टिफिकेट छैन ।” उहाँले विद्यार्थीलाई जुन क्षेत्रमा रुची छ त्यसकै तालिम दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महानगरले पनि प्राविधिक र व्यावसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । मदरसाहरुको भौतिक विकासका लागि महानगरले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले सीमित स्रोत र साधनको बाबजुत पनि महानगरले दक्षिणी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

विराट राजाको दरबार क्षेत्रमा अवस्थित किचबध पोखरी, मण्ठापोखरी र रानीपोखरीको निर्माण धमाधम भइरहेको छ । बहुवर्षीय आयोजनाका रुपमा रहेका उक्त पोखरीहरुको निर्माण र सौन्दर्यकरण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने मेयर कोइरालाले बताउनुभयो । उहाँले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेकाले साथ दिन सबैलाई आह्वानसमेत गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्