विराटनगरका भोला सिलवालले व्यवसायिक खेल जीवनबाट लिए सन्यास

विराटनगरका भोला सिलवालले व्यवसायिक खेल जीवनबाट लिए सन्यास

एक समयका नेपाली राष्ट्रिय टिमको एक भरोसावान मिडफिल्डर भोला सिलवालले व्यवसायिक खेल जीवनबाट सन्यास लिएका छन् । झण्डै २ दशक नेपाल पुलिसबाट व्यवासयिक फुटबल खेलेका सिलवालले शुरुमा विराटनगरको मोतिराम स्पोर्टिङ क्लबबाट व्यावसायिक फुटबल करिअर सुरु गरे । त्यसपछि सम्राट स्पोर्टिङ क्लब हुँदै २०६० सालमा काठमाडौंको सी- डिभिजनको क्लब सामाजिक युथ क्लबबाट खेल्न थाले ।

उनको जीवनको टर्निङ प्वाइन्ट भने २०६१ सालमा काठमाडौँमा भएको सनमुन कपबाट भएको हो । काठमाडौंको नेपाल पुलिसको तालिम केन्द्रको खेलमैदानमा भएको सनमुन कपमा उनले पूर्वाञ्चल टिमबाट खेलेका थिए । त्यही समयमा नेपाल पुलिसमा खेलाडी मागिएको थियो । उनी पनि गए र छनोट पनि भए । उनेले २०६२ बैशाखमा नेपाल पुलिसबाट डेब्यु गरे । नेपाल पुलिस क्लबबाट खेल खेल्न शुरु गरेपछि तथा खेलमा राम्रो सुधार भएपछि उनलाई राष्ट्रिय टिममा बोलाइएको थियो । उनी पछि नेपालको राष्ट्रिय टोलीका मिडफिल्डर बने । एक भरोसावान् खेलाडीका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले राम्रै भूमिका निभाए । नेपालको राष्ट्रिय टिमबाट उनले सन् २००८ मा उत्तर कोरिया विरुद्धको खेलमा डेब्यु गरे ।

त्यसपछि उनले राष्ट्रिय टोलीबाट बंगलादेश विरुद्धको खेलमा तथा इस्टटिमोर विरुद्धको खेलमा एक-एक गोल गरेका थिए । उनी खेल्न थाले पछि नेपाल पुलिसले ३ पटक सहिद स्मारक लिग जित्यो । त्यो समय पुलिसमा नेपालका चर्चित खेलाडी हरि खड्का र भोला संगै अवकाश लिएका जुमानु राई पनि थिए । नेपाल पुलिसले २०६३, ०६७ र २०६८ को सहिद स्मारक लिग जितेको थियो । २०६८ सालमा भएको राष्ट्रिय लिगमा पनि नेपाल पुलिसले उपाधि जितेको थियो । नेपाल पुलिसबाट खेल्दा उनले नेपालमा भएका धेरै गोल्डकपको उपाधि हात परेका थिए । सहिद स्मारक ए डिभिजन लिगमा पुलिसको अन्तिम खेलमा पुलिसले च्यासल मैदानमा सातदोबाटो युथ क्लबलाई शुक्रबार १–० ले हराएसँगै तेस्रो स्थानमा यसपटक लिगको अन्त्य गरेको छ ।

उपाधि विजेता चर्च ब्वाइज युनाइटेड क्लबले ४८ र दोस्रो स्थानको मछिन्द्र क्लबले ४२ अंक जोड्दा पुलिसको खातामा ४१ अंक रहेको छ । सहिद स्मारक ए डिभिजन लिगमा पुलिसको अन्तिम खेल सँगै जुमानु र आफूले सन्यास लिएको भोलाले बताए । पुलिसले लिग उपाधिमा ह्याट्रिक गर्दाका महत्वपूर्ण सदस्य रहेका जुमानु र भोलाले फुटबलबाटसँगै अलग हुने निर्णय गरेका छन् । पुलिसले विराटकृष्ण श्रेष्ठको प्रशिक्षणमा २०६३, २०६६/६७ र २०६८ मा लिग जित्दै ह्याट्रिक गरेको थियो । कुनै समय दुवै राष्ट्रिय फुटबलका पनि महत्वपूर्ण सदस्य थिए । यसपटक लिगमा ३ खेल मात्र खेलेका भोलाले पनि प्रशिक्षणमै जुट्ने योजना रहेको सुनाए । ‘ झण्डै १९ वर्ष पुलिसबाट खेले । मलाई भोला सिलवाल भनेर पुलिसले नै चिनाएको हो । यदि म पुलिसमा हुने थिएन भने गुमनाम हुन सक्थे,’ भोलाले भने,‘ मलाई क्लबले मौका दियो र मैले पनि आफ्नोतर्फबाट हर सम्भव दिने प्रयास गरे । आफ्नो खेल जीवनबाट म खुसी छु । अब क्लबकै प्रशिक्षण टोलीमा बसेर काम गर्ने इच्छा छ । ’ सन् २००८ देखि २०१६ सम्म राष्ट्रिय टोलीबाट खेलेका भोलाले २ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्