कोशी प्रदेश सरकारको पूँजीगत खर्च ४८ दशमलव ५६ प्रतिशत

कोशी प्रदेश सरकारको पूँजीगत खर्च ४८ दशमलव ५६ प्रतिशत

विराटनगर । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको जेठ २५ गतेसम्म तथ्यांक अनुसार कोशी प्रदेश सरकारले पूँजीगत खर्चको प्रतिशत ४८ दशमलव ५६ प्रतिशत अर्थात् ११ अर्ब ३१ करोड १० लाख ४६ हजार रुपैयाँ गरेको छ । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३९ अर्ब ८७ करोड ३१ लाख ६९ हजार रुपैयाँको अनुमानित आय व्यय प्रस्तुत गरेको थियो ।जसमा पूँजीगततर्फ २३ अर्ब २८ करोड ८ लाख २० हजार रुपैयाँ रहेको छ ।

यस्तै प्रदेश सरकारले चालू खर्च १६ अर्ब ५ करोड ४३ लाख ४८ हजार रुपैयाँ मध्ये ५४ दशमलव २६ प्रतिशत अर्थात् १० अर्ब ३२ करोड ६८ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ । चालू र पूँजीगत तर्फको खर्चको अवस्था भने ६२ दशमवल २६ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड ७९ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

प्रदेश सरकारको सबैभन्दा बढी खर्च गर्ने मन्त्रालय भनेको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय (हालको भौतिक पूर्वाधार विकास मन्त्रालय) पर्दछ । जहाँ मन्त्रालयको जम्मा बजेटमध्ये चालू तर्फ ३५ करोड ५७ लाख ६४ हजार रुपैयाँ रहेपनि पूँजीगत तर्फ भने १३ अर्ब ९० करोड ६१ लाख रुपैयाँ रहेको थियो ।
जुन रकममध्ये पूँजीगत तर्फ उक्त मन्त्रालयले ६ अर्ब ७९ करोड ४० लाख ९१ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । यस्तै पूँजीगत बजेट धेरै रहेको अर्को मन्त्रालय भनेको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय हो । उक्त मन्त्रालयको जम्मा बजेट ६ अर्ब ३१ करोड ६ लाख ६ हजार रुपैयाँ रहेको छ । जसमध्ये चालू खर्च ३१ करोड २३ लाख ८१ हजार रुपैयाँ हुँदा पूँजीगत तर्फ भने ३ अर्ब २७ करोड ८ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ । बजेटको लक्ष्य अनुसार प्रदेश सरकारले अबको पाँच हप्तामा चालू र पूँजीगत गरी १ अर्ब २३ करोड ५२ लाख २६ हजार रुपैयाँ खर्च गर्नुपर्नेछ ।

प्रदेश सरकारको खातामा २९ अर्ब २१ करोड १३ लाख ४ हजार ४९ रुपैयाँ जम्मा भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको चालू आर्थिक वर्षको जेठ २४ गतेसम्ममा उक्त रकम जम्मा भएको विवरण उपलब्ध गराएको छ । सरकारको ३९ अर्ब ८७ करोड ३१ लाख ६९ हजार रुपैयाँको अनुमानित आयमध्ये हालसम्म २९ अर्ब २१ करोड १३ लाख ८४ हजार जम्मा भएको हो । जुन रकममध्ये हालसम्म २१ अर्ब ६३ करोड ७९ लाख ४२ हजार रुपैयाँ खर्च भएर प्रदेश सरकारको बैंक खातामा झण्डै ९ अर्ब बाँकी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्