विराटनगरको सार्वजनिक माविमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना

विराटनगरको सार्वजनिक माविमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर-१९ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरेको छ ।

आइतबार विद्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ल्याबको उद्घाटन गर्नुभयो । महानगरको ४५ प्रतिशत र डिजिटल ब्रिजेज फोर नेपाल तथा विल्ट बेटर विराटनगरको ५५ प्रतिशत संयुक्त लगानीमा ल्याब स्थापना गरिएको हो ।

अत्याधुनिक उपकरणसहित ल्याबमा १६ वटा कम्प्युटर जडान गरिएको छ । सो ल्याबबाट प्रविधिमा आधारित शिक्षण सिकाई, विभिन्न गोष्ठी, सेमिनार, प्रशिक्षणलगायतका कार्य गर्न सकिनेछ । ल्याब स्थापना भएसँगै वडा नम्बर १९ का सार्वजनिक विद्यालय तथा सो वडामा रहेका अन्य विद्यालयसमेत लाभान्वित हुने मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँले आफू महानगरको नेतृत्वमा आएदेखि नै शिक्षालाई उच्च प्राथमिकता राखेर काम गरिरहेको दाबी गर्नुभयो । वडा नम्बर १९ विकासमा पछाडि परेकासमेत उहाँको भनाइ थियो । अबको शिक्षालाई प्रविधिसित जोड्न नसके पछाडि परिने भन्दै मेयर कोइरालाले भन्नुभयो, “अहिलेको सूचना प्रविधिसँग जो व्यक्ति जोडिन्छ उसले विश्व बुझ्छ । अबको समय भनेको कम्प्युटरको समय हो । प्रविधिमार्फत घरमै बसेर पनि रोजगारी पाउने अवस्था छ ।” उहाँले विद्यालयस्तरदेखि नै सूचना र प्रविधिप्रति विद्यार्थीलाई पोख्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेले महानगरपालिका भएर पनि विकासको दृष्टिले अत्यन्तै पछाडि परेको वडाको विद्यालयलाई ल्याब स्थापनाका लागि छनौट गरेकोमा धन्यवाद दिनुभयो । उहाँले विद्यालयमा करिब ७५ प्रतिशत बाँतर समुदायका बालबालिका अध्ययन गर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको विकास अन्य वडाको तुलनामा १९ नम्बर वडामा कम भएको गुनासो गर्नुभयो । उहाँले कम्प्युटर ल्याबलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

महानगरका शैक्षिक प्रशासन महाशाखा अधिकृत कृष्ण भट्टराईले एक वडा एक नेतृत्व विद्यालयको अवधारणाअनुसार सार्वजनिक माविमा कम्प्युटर ल्याबको सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । आगामी वर्षदेखि सबै वडाका अन्यमा विद्यालयमा पनि कम्प्युटर ल्याब विस्तार गर्ने महानगरको योजना रहेको उहाँले बताउनुभयो ।

ल्याब सञ्चालनका लागि विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई १२ दिने तालिमसमेत सञ्चालन गरिएको थियो । डिजिटल ब्रिजेज फोर नेपालले २ वर्षसम्म सघन रुपमा प्राविधिक सहयोग उपलब्ध गराउने ब्रिजेजका प्रोजक्ट कोर्डिनेटर प्रकाश श्रेष्ठले बताउनुभयो । त्यस्तै ब्रिजेजकी उत्सिका अधिकारीले डिजिटल ब्रिजेज फोर नेपालको बारेमा जानकारी गराउनु भएको थियो । विद्यालयका प्रधानाध्यापक खगेन्द्र खवासले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा कम्प्युटर ल्याबले महत्वपूणर् भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार सो विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्