सुजता लिम्बू
विराटनगर । ‘ नेतृत्वको तहबाट धराने जनताको अपेक्षा के हो ? धेरैको जमातमा जवाफ एउटा मात्रै थियो,‘ पानी’ यो प्रश्न र जवाफ स्थानीय तह निर्वाचन ताका धराने जनतालाई सोधिएको थियो । त्यो समय ठूला दलका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका हर्कराज राई अर्थात (हर्क साम्पाङ) चुनावी अभियानमा एक्लो यात्रा तय गरिरहेका थिए ।
उनको वरीपरि न झण्डा बोक्ने हुल थियो, न चुनाव प्रचारप्रसारका लागि सारथी । थियो त केबल पानीको एजेण्डा र धराने जनतालाई पानीको अभावबाट मुक्त गर्ने प्रतिवद्धता । त्यही प्रतिवद्धता पुरा गर्ने हुटहुटीले स्थानीय तहको निर्वाचनमा होमिएका साम्पाङले धराने जनताको मत पाउँछ भन्नेमा धेरै मानिस विश्वस्त थिएनन । तर, अपेक्षा विपरित उनलाई अत्याधिक मतका साथ धरान उपमहानगरपालिकाको बाघडोर सम्हाल्न जनताले नगर प्रमुखका रुपमा चुनेका थिए ।
शपथग्रहणका दिनदेखि यता दशकौंदेखि पानीको हाहाकार बेहोर्दै आइरहेका धरानवासीलाई पानी खुवाउने जोडमा लागेका उनका लागि चुनौती र आलोचनाको चाङ नथोपरिएको पनि होइन् । उनले आफ्नै नेतृत्वमा रहेका जनप्रतिनिधिबाट असहयोग नबेहोरेका पनि होइन, तर पनि त्यही आलोचना र असहयोगलाई सफलताको खुड्किला सम्झेर अगाडि बढेको साम्पाङले कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भए ।
विविध उत्तरचढाव, आलोचना र संघर्षकाबीच नथकाई, नधकाई जनता समक्ष राखेको प्रतिवद्धता पुरा गर्न पाइला अगाडी बढाएका साम्पाङ सोमबार मध्यरातमा भावुक बनेका थिए । खुशीले भरिएको मन, आँखामा पुगेर छल्किएको देख्न सकिन्थ्यो । केही समय गम्भिर भएर उभिएको उनी आफूसँगै पुगेका सहयात्री (धराने जनता) र उपप्रमुखसँग पानीसँगै खुशी साट्न भ्याएका थिए । उनको भावुकता, खुशी र आँखाका डिलमा छल्किएको आँशु धराने जनताको साथ र उनले दिनरात नभनी खोलाको बगर र पानीको पाइपमा बगाएको पसिनाको उपज हो भन्दा फरक नपार्दो हो । त्यसो त उनको सफलतामा साथ दिन धराने जनताले पनि निन्द्रा समर्पण नै गरेका थिए । उनले कोकाहाको पानी पकुवा खोलासम्म नलगि घर नजाने प्रतिवद्धता नै जनाएका थिए । पछिल्लो समय खरेडीको कारण उनै साम्पाङको नेतृत्वमा बनेको सानोतिनो पानीको श्रोत सुकेर धरानमा खानेपानीको अभाव उत्तिकै खड्किएको थियो । त्यही अभाव र जनताको गुनासोलाई मध्यनजर गर्दै उनी दिनरात नभनी धरानसम्म पानी ल्याउने अभियानमा लागेका थिए । शुक्रबार कार्यालय सकेर कोकाहा खानेपानी परियोजना तर्फ लागेका उनी आइतबार र सोमबार श्रम अभियानमै खटिएका थिए । सोही अनुसार मंगलबार बिहान १२ बजेर ३ मिनेटमा कोकाहको पानी धरानको पकुवा खोलामा आइपुगेको थियो । लामो संघर्ष र परिश्रमले पानी ल्याउन सफल भउका उनी आफ्नो भावुकता, आँशु त्यही पानीमा पखाल्दै खुशी बाँडेका थिए । आफ्नो अभियान सफलताका साथ अवतरण गराएसँगै घर फर्किएका साम्पाङ आलोचनाको प्रहारले नै झनै बलियो बनेको धरान बासीहरुको बुझाई छ । खानेपानी अभियानकै लागि देशविदेशबाट सहयोग आएको छ भने धरानदेखि र अन्य स्थानहरुबाट पनि श्रमदानका लागि मानिसहरु पुग्ने गरेका छन् ।