विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को लागि अध्यादेशबाट ल्याएको बजेट सार्वजनिक भईरहँदा विपक्षी दलले भने बहिस्कार गरेका छन् ।
बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बहिष्कार गरेका हुन् ।
संसद छलेर अध्यादेशबाट आउने बजेटमा सहभागी नहुने भन्दै उनीहरूले अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुको साटो संविधान विपरीत अध्यादेशमार्फत बजेट ल्याएको भन्दै बहिष्कार गरेका हुन् ।
कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत लिएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गरेका छन् ।
प्रदेश सरकारले बुधबार प्रदेशसभामा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यक्रम माथि छलफल नै नगरी संसदको बजेट अधिवेशन अन्त्य गर्दै सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।